४ आश्विन २०७८, सोमबार

गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानको आय–ब्याय सोमबार सार्वजानिक गरिएको छ ।

महासंघका उपाध्यक्ष रेशम कुँवरको संयोकत्वमा गठित लेखा समितले पेश गरेको आर्थिक प्रतिवेदन सोमबार बसेको पत्रकार महासंघ तथा अभियान्तहरुको बैठकले अनुमोदन गरि सार्वजनिक गरिएको हो ।

अनुमोदित प्रतिवेदन अनुसार यस अभियानभर संकलन भएको कुल रकम १ करोड , ४ लाख १९ हजार ९ सय ८५ रुपैयाँ रहेको छ । जस मध्ये कुल खर्च रकम ८८ लाख ९९ हजार १ सय ५० रुँपैया भएको छ ।

खर्च कटाई १५ लाख , १९ हजार ९ सय ३५ रुपैयाँ बचत हुन आएको छ । उक्त बचत रकम अझै पनि जिल्लामा कोभिड–१९ को संक्रमण कायमै रहेको र भविष्यमा पनि संक्रमण थपिन सक्ने भएकोले जिल्लाका नागरिकहरु कै उपचारका लागि पत्रकार महासंघ कै खातामा राख्ने निर्णय बैठकले गरेको छ ।

पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, अक्सिजन अभियानका समनव्य समिति संयोजक जनार्दन घिमिरे , उपाध्यक्ष तथा लेखा संयोजक रेशम कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तीमा ७ सय २ जनाले सहयोग गरेको , यस अभियानभर २४ जना अभियान्तहरु परिचालित भएको उल्लेख छ ।

‘२०७८ बैशाख २५ गते देखि सुरु गरिएको अभियान जेठ ६ गते बन्द गरिएको अभियानको हिसाव किताव समयमै सार्वाजानिक गर्न निकै प्रयत्न गरिएको, तर बोल रकम संकलन र विभिन्न माध्यामबाट प्राप्त रकम नेपाल पत्रकार महासंघको खातामा भए÷नभएको प्रमाणिकरण गर्न निकै समस्या भएकोले चार महिना पछि सोमबार पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वाजानिक गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल पत्रकार महासंघका सचिव प्रेम सुनारका अनुसार अक्सिजन प्लाण्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको छ । स्थापनाका लागि नेपाल सरकारबाट १ करोड विनियोजन भएको थियो भने ६० लाख रुपैयाँ अक्सिन अभियानबाट संकलित रकम नेपाल पत्रकार महासंघले गुल्मी अस्पताललाई हस्तान्तरण गरेको छ ।

यस अवधीभर पत्रकार महासंघले कुनै पनि अस्पताल तथा आईसोलेशनमा अक्सिजनको अभाव हुन दिएन् । त्यसका अलवा पनि पत्रकार महासंघमा भरि अक्सिजनहरु सिलेण्डरहरु स्टक राखिएको छ ।

यस अभियानमा जोडिएर सहयोग गर्ने सबैलाई संघले धन्यवाद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV