४ आश्विन २०७८, सोमबार

महोत्तरी । इञ्जिनियर कलेज बनाउने भन्दै जनताको उर्वर जमिन लिइन्छ । जग्गा परेका हरेक घरका एक जनालाई निशुल्क इञ्जिनियर पढाउने बचन पनि दिइन्छ । छोराछोरी इञ्जिनियर बन्ने लोभमा मनग्ये धान फल्ने उर्वर जमिन कलेजलाई सुम्पन्छन् गाउँलेले । तर न कलेज नै बन्छ नत आफ्ना छोराछोरीहरुको इञ्जिनियर बन्ने सपनाको संकेतहरु नै देखिन्छन् ।

उल्टै वर्षौंदेखि त्यतिकै राखेको जमिनको माटो ठूलो खाल्डो खनेर जिल्ला प्रशासन कार्यालयको जमिन पुर्न उठाइन्छ । कलेज पनि नबनेपछि चित्त दुखाएका जमिनवालाहरु माटो उठाएपछि विरोधमा उत्रन्छन् । तर सिडिओ साब अर्थात प्रमुख जिल्ला अधिकारीको आदेशमा विरोधमा उत्रिएका केहीलाई समातेर थुनिन्छ ।

जिल्लामा चल्ने सिडिओ साबकै हो । देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि जनताको नभइ जिल्लामा अझै पनि सिडिओ साबकै राज चल्दै आएको चर्चा यो घटना पनि महोत्तरीमा सर्वत्र बनेको छ ।

अझै पनि राज सिडिओ र एसपीकै 

गणतन्त्रको यो कालमा पनि जिल्लामा सिडियो र एसपीको नै राज चल्छ । उनीहरुले जिल्लामा आफूले भनेकै कुरा कानून हो र आफूले गरेको कुरा नै सही हो भन्ने भावना र अहम अझै उस्तै छ । उनीहरुले गरेको कामकाजको विरोध गर्नेलाई हप्काउने, गालीगर्ने र थुनामा समेत राख्ने गरेको पाइएको छ । पछिल्लो पटक महोत्तरीको सिडियो तीर्थराज भट्टराईले गरेको एउटा कार्य निक्कै निन्दनीय बनेको छ ।

सन्तानलाई इञ्जिनियर बनाउने लोभ देखाएर लिइयो जग्गा

महोत्तरीका सिडियो तीर्थराज भट्टराईले आईतवार सदरमुकाम जलेश्वरमा अवस्थित मणिपाल कलेजको ३६ विगाह भन्दा बढी जग्गाबाट जथाभावी माटो उत्खनन गर्दा विरोध गर्ने दुई स्थानीयवासीले पक्राउ गरि थुनामा राखेका छन् । करिब ३० वर्ष अघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेहरुको अन्नको भण्डारको रुपमा रहेका करोडौ मूल्यको ३६ विगहा बढी जग्गा किसानहरुले मणिपाललाई ईन्जिनियरिङ्ग कलेज निर्माणका लागि दिएका थिए ।

प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क ईञ्जिनियरिङ्ग पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गामात्र १० हजार प्रतिकट्ठाका दरले लिएको थियो । तर अहिलेसम्म मणिपालले त्यहाँ कलेज निर्माण गरेका छैन भने किसानहरुको बहुमूल्य जग्गा बञ्जर बन्दै गएको छ । मणिपालले धेरैजसो संरचना समेत निर्माण गरिसकेको, जग्गाहरुमा माटो पुरिसकेको र खालीजग्गामा २÷३ गाउँका बासिन्दाहरुले वस्तुभाऊ चराउने जस्ता कामहरु गर्दै आएका छन् । किसानहरु अझै पनि मणिपालले कलेज निर्माण गर्ने र आफ्ना छोराछोरीहरु ईन्जिनियर बन्ने आशा बोकेका छन् ।

सिडिओ साबलाई चाहियो माटो

यसैबीच महोत्तरीका सिडिओ भट्टराईले जग्गादाता किसान, नगर प्रमुख अथवा कोही कसैसँग कुनै सोधपुछ वा समन्वय नै नगरी जथाभावी रुपमा ठूलो खाल्डो खनेका छन् । सिद्धबाबा कन्स्ट्रक्सनलाई भट्टराईले माटो खन्न लगाएका छन् ।

खाडल खन्दा बालबालिका र चौपाया डुब्ने डर

सिडिओ भट्टराईले गहिरो र लामो खाल्डो खनाएकाकारण सो स्थानमा ३÷४ गाउँबाट दैनिक रुपमा वस्तुभाऊ चराउनका लागि आउने बालबालिका र सर्व साधारण डुब्ने खतरा बढेको छ । आईतवार वडा नं. ८ बजराहीगाउँका किसान तथा जग्गादाताहरु गएर माटो खन्ने विरोध गर्दा प्रहरी खटाएर उनीहरुलाई लखेटिएको छ ।

विरोध गर्नेहरू थुनामा

विरोध गर्ने स्थानीय सञ्जीत पाठक र सुवास झालाई पक्राऊ गरी जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको थियो ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा कुनै गलत कामको विरोध गर्ने जनताको अधिकारको सिडिओ भट्टराईले आफ्नो तानाशाह प्रवृति देखाउँदै हनन गरेको आरोप स्थानीयको छ ।

माटो उत्खनन कार्य मेरो अधिकार क्षेत्रमा पर्दैन : मेयर मिश्र

माटो उत्खनन स्थलमा खटिएका सिद्धबाबाका कामदारले आफूहरु सिडिओ र जलेश्वरका मेयर बीचको समन्वय पश्चात यहाँबाट माटो उत्खनन गरेको बताए । तर यस विषयमा जलेश्वरका मेयर रामशंकर मिश्रले भने माटो उत्खनन कार्य आफ्नो अधिकार क्षेत्रको नभएको बताएका छ्न ।
उता सिडियो भट्टराईले भने गरेको कामको विरोध गर्नेलाई थुनामा राख्ने अधिकार पनि आफुसंग रहेको बताए । क्यामरामा बोल्न अस्वीकार गरेका सिडिओ भट्टराईले विकास निर्माणको काममा विरोध उचित नहुने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV