४ आश्विन २०७८, सोमबार

काठमाडौं । संविधान दिवस यसपटक पनि सदाझैँ उही औपचारिकता पूरा गरेर मनाइएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट नेतागणबाट शुभकामना सन्देश जारी गर्दै संविधानको पालना र कार्यान्वयनमा गम्भीर हुन र गम्भीर बन्ने आग्रह र प्रतिबद्धता व्यक्त गरिए ।

नेपालको संविधान जारी भएको ६ वर्ष पूरा गरेर सात बर्ष टेकेको छ । धेरै अर्थमा धेरै फरक व्यवस्थासहित जारी भएको संविधान आम नेपालीका लागि धेरै पृथक पक्ष पनि समेटिए । हिमालीमा भेगमा बस्नेदेखि तराई मधेससम्मका नेपाली नागरिकले अपनत्व बोध गर्ने धेरै व्याख्या गरियो । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीतालाई संविधानको मर्ममा महत्वका साथ समेटियो । सात सालदेखि परिवर्तनका धेरै अध्यायमा लड्दै आएका नेपाली जनताले यस संविधानमार्फत खोजेको र रोजेको धेरै पाए ।

तर संविधानलाई लिएर असन्तुष्टि अझै पनि उस्तै छ । आम नेपालीले अपनत्व गर्न नसकेको संविधान भएको भन्दै आलोचना पनि हुन्छ समय समयमा । त्यसमाथि ठूला मानिएकादेखि साना दलहरुको संविधानप्रतिको व्यवहार संविधान अनुकुल नभएको टिप्पणी पनि बारम्बार हुँदै आएको छ । संविधानको रखबारी गर्ने न्यायालयमाथि हस्तक्षेपदेखि लिएर संघीय संसदमाथि हुने गरेको व्यवहारले संविधानलाई मर्माहत पार्ने काम भइरहेको देखिरहेका छन् यो देशको जनताले ।

तत्कालीन संविधानसभाबाट बढो सम्मानका साथ ढोगेर संविधान जारी गर्नुहुने पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले भने संविधानलाई कागजको खोस्टो बनाउन दलहरु लागिपरेको आरोप लगाउनु भएको छ । उहाँले संिविधान अपरिवतर्नीय नहुने भन्दै नेपालको संविधान पनि सही मुद्दामा सम्बोधन गरेर संशोधन गर्नु पर्ने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति यादव र प्रस्तोता सम्झना भुजेलबीच कुराकानी

प्रस्तोता : पूर्वराष्ट्रपति ज्यू, २०७२ असोज ३ गते संविधान जारी भयो, यो दिनलाई कसरी सम्झिनुहुन्छ ?

पूर्वराष्ट्रपति यादव : यो दिन सबै नेपालीका लागि ऐतिहासिक दिन हो, सबै खुसी हुनुपर्छ र अनि उत्वस मनाउँनु पर्छ । यो दिन हाम्रो अधिकारको लडाई हो, २०६२/६३ को जनआन्दोलनबाट संविधान बनायौँ, नेपाली जनताको सार्वभौम सत्ता सम्पन्न प्रतिनिधि सभाबाट जुन संविधान बन्यो त्यो लोकतान्त्रिक हो, गणतान्त्रिक हो, समानुपातिक समावेशी हो र धर्म निरपेक्षतासहितको संविधान हो । जहाँ धर्म निरपेक्षाताको बारेमा चर्चा भईरहन्छ । सबै धर्मलाई हामीले सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । र, सबै नेपाली हामी जुन सम्प्रदायका हाैँ, समाजका हौँ आफ्नो संस्कृति, परम्परा अनुसार पूजाअर्चना गर्दै परम्परालाई कायम राख्दै अगाडि बढ्ने । हामी सबै नेपालीका लागि यो सुखद दिन हो ।

प्रस्तोता : तपाई तत्कालीन राष्ट्रपति भएको बेलामा तपाईले संविधान जारी गर्नुभयो सम्मानपूर्वक । तर, अहिले संविधान जारी भएको यो लामो वर्षसम्ममा संविधानप्रति असन्तुष्टिका आवाजहरु भने बढ्दैछन् यस्लाई कसरी लिनु भएको छ ?

पूर्वराष्ट्रपति यादव : जब संविधानसभाबाट संविधान बन्यो असन्तुष्टिहरु त्यसबेला पनि थिए । र, असन्तुष्ट पक्षहरुले संविधानलाई माने । तर, संविधान केही संशोधन होस् भनेर आवाज अहिले पनि उठिरहेको छ । त्यो समयको क्रममा त्यसको मागसहित त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । त्यसमा भएका समस्यालाई बुझेर समाधान गरेर अगाडि बढ्नुपर्छ । तर, अहिले सबै पार्टीले संविधानलाई स्वीकार गरिसकेको छ । संशोधनको कुरा चाँही उठिरहेको छ । भारतको संविधान १२० पटक संशोधन भईसकेको छ । हाम्रो संविधानलाई पनि संशोधन गर्दै समय सापेक्ष रुपमा अगाडि लग्नुपर्छ । तर, सबै पक्षले यस्लाई स्वीकार गरेको छ। त्यसैले यो संविधानलाई संविधानको मर्म अनुसार लागू गर्दै गएकाले हाम्रो यो संविधान सदियौँसम्म जाओस् मेरो शुभकामना छ ।

प्रस्तोता : यहाँले पनि बताउँनुभयो संविधान समय सापेक्ष संशोधन हुनुपर्छ भनेर, विशेषगरी तराई मधेश केन्द्रित दलहरुले संविधान संशोधनलाई मुद्दा नै बनाउँने गरेका छन् । यसलाई कसरी लिनुभएको छ ?

पूर्वराष्ट्रपति यादव : सबैले स्वीकार गरेको छ । यस्को प्रत्यक्ष प्रमाण चुनावमा उनीहरु भाग लिएर सरकारमा पनि गए । विगतमा पनि गएकै हो । यो संविधानलाई कहिले कालो दिवस भन्छ । तर, मूलभूत रुपमा उनीहरुले यो संविधानलाई स्वीकार गरिसकेको हो । र, जुन उनीहरुको चाहना छ त्यसअनुसार सही छ भनेर संशोधन गरेर अगाडि बढ्नु पर्यो । त्यसैमा राष्ट्रको हित हुन्छ ।

प्रस्तोता : ठूला भनिएका दलहरुको व्यवहार पनि संविधान प्रतिकुल नभएको आवाजहरु उठ्न थालेका छन् । कतिपय दलहरु व्यवहारतः पनि संविधानलाई मिचेर गएको देखाएका छन् । किन दलहरु संविधानको मर्म र सम्मानमा चुक्दै छन् जस्तो लाग्छ ?

पूर्वराष्ट्रपति यादव : त्यो सही हो, संविधानको मर्म अनुसार दलहरुले जो सरकारमा थिए विगतमा ओली जीको सरकार । तीनले संविधानको मर्ममाथि नै प्रहार गरेको छ । ५ वर्षको सभालाई भंग गर्ने अधिकार जुन सरकारलाई दिइएको छैन् । तर, सरकारले सांघातिक हमला ग¥यो दुई दुई पटक । तर, अदालतले संविधानअनुसार आफ्नो कर्तव्य निवार्ह गर्यो । त्यसले ट्रयाकमा आयो ।

विगतमा संविधानको मर्म अनुसार दुई पटक विघटन भएको संविधान अदालतले संविधानको मर्म अनुसार त्यसलाई व्याख्या गरेर बचायो । तर, जुन सदन छ त्यसमा सरकार अघि बढिरहेको त त्यसले चाही संविधान अनुसार, संविधानको मर्म अनुसार, कानून अनुसार देशलाई चलाउँनु पर्छ । जुन हामीले प्रतिनिधिसभामा देखिरहेका छौँ त्यो गर्नैै नहुने काम भईरहेको छ । यस्तो काम गर्न हुदैन, गठबन्धनको सरकार छ । त्यसलाई लोकतान्त्रीक संस्कृती अनुसार समन्वय गरेर शान्तिपूर्ण ढंगले अघि बढ्नु पर्छ । र, अनुसाशित ढंगले प्रतिनिधिसभाबाट समाधान गरेर अघि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV