३ आश्विन २०७८, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताले न्याय नपाएसम्म सँंविधान आफूहरुलाई स्वीकार्य नरहेको बताएका छन् ।

मधेश आन्दोलनका शहीद सत्रुधन पटेलको छैटौं स्मृतिमा पर्साको पकाहामैनपुर गाउँपालिकामा आयोजित स्मृत्ति सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अधिकारका लागि सडकमा निस्कएका मधेशी जनतालाई गोली हानेर बनाइएको संविधान मधेशका लागि स्वीकार्य नरहेको बताएका छन् ।

मधेशीको रगतले लेखिएको संविधानमा मधेशीकै अधिकार नसमेटिएकोले यो संविधान मधेशीलाई स्वीकार्य नरहेको भन्दै जबसम्म मधेशका माग समेटिदैन तबसम्म मधेशी जनताले यो संविधानको अपनत्व लिन नसक्ने बताए ।

असोज ३ गते नेपाल सरकारले संविधान दिवस मनाइरहँदा मधेशी जनताले असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउने बताए । संविधान जारी हुनु पूर्व मधेशीहरुको माग संविधानमा राख्न शान्तिपूर्ण आन्दोलनमा उत्रिएको अवस्थामा मधेशीलाई खस शासकले बदलाको भाव राखेर गोली चलाएर मधेशी सपुतहरुको हत्या गरेकोले छातीमा गोली खेपेका मधेशीहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिए ।

‘अहिले पनि मधेशप्रति शासकको विभेदकै व्यवहार छ । अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन् । सयौं नेता कायकर्ताले मुद्दा खेपिरहेका छन्’, उनले भने, ‘माओवादी सशस्त्र युद्धका घाइतेलाई राज्यले भरपोषण गरिरहेको छ । तर, मधेश आन्दोलनका घाइतेहरुलाई सरकारले वेवास्ता गरेकोले एउटै मुलुकका जनतालाई सरकारले द्वैध चरित्रको व्यवहार गरिरहेको छ ।’

यसरी नै लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महत्तोले असोज ३ गते मधेशी र मधेशका अधिकारको हत्या भएको दिन भएकोले आजको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसकिने दाबी गरे ।

‘मधेशी जनता पनि नेपाली नागरिक हुन्, त्यसैले मधेशीको अधिकार पनि समेटेर संविधान जारी गर्न शान्तिपूर्ण आन्दोलनमा उत्रिदा सरकारले गोली चलाएर मधेशीको हत्या गरेको छ’, उनले भने ।

त्यसैगरि पूर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी (हत्यरा) संविधान रहेको बताए । ‘संविधान लेख्ने बेलामा हामीले मधेशीलाई पनि नेपाली ठानेर मधेशको पनि मुद्दा समावेश गरिदेउ भनेर माग गर्दै सडकमा निस्क्यौ तर, खसवादी दल र त्यस बेलाको सरकारले मधेशी माथि गोली चलायो । मधेशीको छातीमा बुट बजार्यो, अनि बन्दुकको बलमा एकलौटी संविधान जारी ग¥यो’, उनले भने ।

स्मृत्ति सभालाई लोसपाका कार्यकारीणी समिति सदस्य तथा पूर्व मन्त्री लक्षुमनलाल कर्ण, कार्यकारीणी समिती सदस्य तथा प्रदेश नं.२ का पुर्व मन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य प्रहलाद गिरी, रमेश पटेल, नेताहरु शशिकपुर मिया, निजामुदिन समानी, युवा नेता ओमप्रकाश सरार्फलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV