३ आश्विन २०७८, आईतवार

दाङ । दाङमा एक पुरुषलाई डर–धम्की देखाएर ५० लाख रुपैयाँको बारर्गेनिङ गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनीहरुले घोराही उप-महानगरपालिका-१५ निवासी भद्रबहादुर जैसी (नाम परिवर्तन) गरेका एक पुरुष व्यवसायीलाई गत असार ६ गते घोराही बजारमा रहेको कोहिनूर रेष्टुरेन्टमा बोलाएर बियर, मासु सँगै खाएका थिए ।

तर, साँझ परेपछि घर जान खोज्दा उनीहरुले आफूहरुमाथि हात लगाएको भन्दै जवरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिदै ५० लाख रुपैयाको बार्गेनिङ गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एवं एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

एसपी काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीय सीतादेवी थापा, ३५ बर्षीया खुमा वली र ३२ बर्षीय सुष्मा परियार रहेका छन् । उक्त होटलबाट निस्किएपछि ती महिलाहरुले मुद्दा हाल्ने भन्दापनि पैसा असुल्ने गरी सम्बन्धित व्यक्तिलाई फोन गरेर डर–धम्की देखाउन थालेको अनुसन्धानबाट खुलासा भएको बताइएको छ ।

गत असार ७ गते प्रतिवादी मध्येकी खुमा वलीले पुनः उक्त व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाएर ‘छिटो कुरा मिलाउनु प¥यो, नत्र प्रहरीमा उजुरी हाल्छौं’, भनेर डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको तथ्य फेला परेको प्रहरी प्रमुख काफ्लेले बताए ।

उनले अभियुक्तहरुलाई नियन्त्रणमा राखेर घट्नाबारे थप अनुसन्धान भइरहेको समेत बताएका छन् । ‘आफ्नो इज्जतसँग जोडेर पुरुषलाई डर धम्की देखाउँदै पैसाको बार्गेनिङ हुने गरेको सुनिन्छ । तर त्यस्ता प्रकृतिका मुद्दा प्रहरीसम्म आइपुग्दैनन्’, प्रहरी प्रमुख काफ्लेले भने, ‘यो ठूलो रकमसँग जोडिएको घट्ना भएकाले प्रहरीसम्म आइपुगेको हो ।’

घट्ना बारे थप अनुसन्धानका लागि प्रतिवादीहरुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार झुटो आरोप लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV