३ आश्विन २०७८, आईतवार

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले खरका छानामुक्त गाउँपालिका घोषणा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको छ । चार बर्षअघि सम्म कुरुप देखिने गाउँ अहिले सुन्दर देखिन थालेको छ । त्यसका बाबजुद अझ पनि केही घर–परिवारहरु भने खरको छानामै र विद्युत बत्ति समेत बाल्न नसक्ने अबस्थामै रहेको पाइएको छ ।

त्यस्ता परिवाहरुको अवस्था बुझ्न मालिका गाउँपालिका प्रमुख रीतबहादुर थापाले यतिबेला टोल–टोल र घर–घरमा पुग्ने अभियान चलाएका छन् । अभियानकै क्रममा शनिबार गाउँपालिका प्रमुख थापा वडा नम्वर ८ द्वाँघास गाउँका ७९ वर्षीय शोभे बिकको घरमा पुगे ।

बिकका एक मात्र छोरा नारायण बिकले आज भन्दा ११ वर्षअघि घरमा झुण्डिएर आत्महत्या गरेका थिए । छुट्टिएर बसेकी बुहारीले निमेक मजदुरी गरेर आफ्ना छोराछोरी पाल्दैमा ठिक्क छ । अन्ततः वृद्ध बिक दम्पतीका लागि सहारा भनेकै वृद्धभत्ता बन्न पुग्यो ।

शोभे बिक र उनकी श्रीमती गोमा बिक दुबैले आँखा देख्दैनन् । सानो खरले छाएको झुपडी, भित्र बेहाल छ फोहर । फाटेका कपडाहरु, त्यसबाहिर खुल्ला शौचालय । त्यो दयानीय दृश्य देखेपछि गाउँपालिका प्रमुख अध्यक्ष केहीबेर त्यस घरको आँगनमा उभिएर भावुक बनिरहे ।

त्यस वडाका वडाध्यक्ष टिकाबहादुर जिसी, वडास्थित दलित साझा मञ्चका अध्यक्ष खड्क नेपाली, पुर्व अध्यक्ष कृष्ण सुनार र जिल्लाबाट पुगेका दलित साझा मञ्चकै नेता कृष्ण विश्वकर्मा लगायत उनीहरुको घरमा पुगेका थिए ।

गाउँपालिका अध्यक्ष थापा लगायतको टोलीले ती बृद्ध दम्पत्तीलाई एक बोरा चामल, दाल, तेल र नुन लगायतको खाद्यान्न तथा २० वाटको सोलार बत्ती प्रदान गरे । साविक मरभुङ्ग गाविसको त्यस वडाको द्वाँघास गाउँ गाउँपालिकाकाभरिकै सबैभन्दा विकट टोल मानिन्छ ।

पैसा भएकाहरु विशेषगरी ब्राम्हण क्षेत्रीहरु बसाइसराइ गरेर हिँडेका छन् । पैसा नहुने दलित समुदाय मात्रै रहेको त्यस गाउँमा शोभे बिकजस्ता केही विपन्नहरुलाई गाउँपालिकाले वितरण गरेका जस्तापाता ‘गरिबलाई हात्ती दान’ भन्ने उखान सिद्ध भएको पाइयो ।

त्यस वडाका वडाध्यक्ष टिकाबहादुर जिसीले जस्तापाता त्यो परिवारलाई दिए पनि उनीहरुसँग छाउने उपाय नभएपछि त्यतिकै थन्किएको छ । तापनि ती राहत सामग्री पाउँदा वडाध्यक्ष जिसीप्रति वृद्ध शोभे विक भावुक थिए । उनी भन्दै थिए– ‘उहाँले त मेरा लागि धेरै गुन लगाउँदै आउनु भएको छ ।’

गाउँपालिका अध्यक्ष थापाले भने– ‘पोहर साल मैले गाडी पठाएर स्वास्थ्य शिविरमा आँखाको उपचार गर्न आउनुस् भनेर मान्नुभएन । अब म फेरि गाडी पठाउँछु, आउन नभुल्नु होला ।’

जुना विकको अवस्था पनि उस्तै

सोही वडा घडेरी टोलकी ३८ वर्षीया महिला जुना विकको आर्थिक अवस्था पनि निकै दयानिय छ । ९ वर्षअघि उनका श्रीमान सम्शेर विकले झुण्डिएर आत्महत्या गरे । ७ सन्तानकी आमा जुना घरबाट छुट्टिइन् । उनको घर थिएन । त्यसैले नेकपा एमालेले मरभुङ्गका कार्यकर्ताहरुले घर बनाउन सुरु गरे । त्यही क्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले जस्तापाता खरिद गरेर ल्याइदिए ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष टिकाबहादुर जिसी भन्छन्– ‘हामी दुई राजनैतिक दलको प्रतिस्पर्धामा बनाइदिएको घर हो यो । बहुदलीय राजनैतिक प्राणालीको सुन्दर पक्ष भनेकै यहि हो, विपन्नहरुलाई सहयोग गर्न प्रतिस्पर्धा चल्नु ।’

हाल उनको सम्पत्तिका नाममा त्यही एउटा बास मात्रै हो ।

 १०२ वर्षका वृद्ध सम्मानित

जुनाको नजिकैमा घर भएका शिवे कामीको उमेर अहिले १०२ वर्ष भयो । त्यस मालिका गाउँपालिकाकै सबैभन्दा जेष्ठ नागरिक उनी भएको प्रमाण फेला पारेपछि मालिका गाउँपालिका अध्यक्ष थापा, वडाध्यक्ष जिसी लगायतको टोली उनकै घरमा पुगेर दोसाल्ला ओढाएर सम्मान गरे । केही राहत सामग्रहरु पनि दिए ।

वि.सं. १९७६ साल कार्तिक ७ गते जन्मिएका उनी यति बेला निकै बिरामी छन् । ३ सन्तानका बाबु शिवबहादुर सुनार भए पनि नागरिकतामा शिवे कामी बनाई दिएका कारण सार्वजनिक स्थानमा अपमानित हुँदै आएका छन् ।

३ महिनाभन्दा बढी खान नपुग्ने

अधिकांश दलित समुदायकै बसोवास रहेको मरभुङ्ग गाउँमा प्रायः सबैजसो दलितहरु ३ महिनाभन्दा बढी खान नपुग्ने अवस्थाका छन् । चुनावताका अन्य समुदायका मानिसहरु खुट्टा ढोग्न आउँछन्, त्यस पछि फर्केर हेर्दैनन् भन्ने त्यहाँका दलित समुदायहरुको गुनासो छ । झण्डै ४ सय घरधुरी दलित समुदाय रहेको त्यस गाउँमा न पञ्चायतकालमा त्यहाँका दलितहरु प्रधानपञ्च बने न पछि गाविस अध्यक्ष नै बने ।

द्वन्द्वकालमा माओवादीबाट गाजस प्रमुखसम्म बनाईका भोटबहादुर सुनार, शशबहादुर सुनार र ज्ञानबहादुर परियारजस्ता पुराना माओवादी स्थानीय नेताहरु अहिले कलेटी परेको मुहार र झुत्रा कपडामा हिड्छन् । उमेर ६० को हाराहारीमा पुगेका उनीहरु भन्छन्– अनपढ भएकै कारण शान्ति प्रकृयापछि हामीले अरु जातिका पढे—लेखेकाहरुलाई नेतृत्व बुझायौं । अहिले कसैले टेर्दैनन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबाट पनि मरभुङ्ग गाउँका दलित समुदायले कतै स्थान पाउन नसकेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV