३ आश्विन २०७८, आईतवार

ललितपुर । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनुवारले मातृभाषी चलचित्रको लागि योजना ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

प्रदेश २ को सरकारले मातृभाषी चलचित्रको लागि आर्थिक सुविधाको व्यवस्था गरिसकेको उल्लेख गर्दै नेपालभाषाको चलचित्रको लागि वागमति प्रदेश सरकारले पनि योजना ल्याउनुपर्नेमा सुनुवारले जोड दिनुभयो ।

‘अहिले ३ तहको सरकार छ, तीनै तहको सरकारसँग हामी सम्वाद गर्दैछौं । संघीयको साथमा प्रदेश र स्थानीय सरकारले पनि स्थानीय मातृभाषी चलचित्र क्षेत्रको विकासमा ध्यान पु¥याउनुपर्छ’ सुनुवारले भन्नुभयो ।

दर्ता लगायतका प्रकृया पूरा नगरी निर्माण भईरहँदा मातृभाषी चलचित्र र चलचित्रकर्मीहरुले राज्यले नचिनेको भन्दै सुनुवारले महासंघबाट सम्पूर्ण मातृभाषी चलचित्रको तथ्याङ्क संकलन गरी चलचित्र विकास बोर्डलाई बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई नेवाः फिल्म सोसाईटीमा एकताबद्ध हुन आग्रह गर्नुभयो । वरिष्ठ कलाकार राजेन्द्रमान शाक्य, थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत चिरन शाक्यले चलचित्र निर्माण गर्दा गुणस्तरमा ध्यान दिन सुझाव दिँदै आफ्नो समुदायको फिल्मलाई प्रोत्साहित गर्नको लागि नेवाः समुदायलाई आग्रह गर्नुभयो ।

सोसाईटीका अध्यक्ष लुःजः सिंहले संस्थाका उद्देश्य र गतिविधिको बारे जानकारी दिँदै सम्पूर्ण नेवार लगायत आदिवासी जनजाति चलचित्रकर्मीहरु एकताबद्ध भई सबैको बृहत्तर हित र उत्थानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभाले बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । सभाले राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन् ।

त्यस्तै महासचिवमा आभास राजोपाध्याय चुनिएका छन् भने सचिव पदमा रोहन श्रेष्ठ छन् । कोषाध्यक्षमा सुनिता श्रेष्ठ पनि सर्वसम्मत चयन भइन् । ६ जना सदस्यमा रुपेन्द्रकुमार श्रेष्ठ, राजन शाही, राकेश प्रधानाङ्ग, बिशाल राजभण्डारी, कृष्णशोभा महर्जन र रोजिना सुवाल रहेका छन् ।

नवनिर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले खादा ओढाए भने वरिष्ठ कलाकार राजेन्द्रमान शाक्यले प्रमाण पत्र प्रदान गरे । वरिष्ठ कलाकार शाक्यले सोसाईटीको निर्वाचन समिति संयोजकको रुपमा अधिवेशनको निर्वाचन प्रकृया सम्पन्न गरेका थिए ।

निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले नेवाः चलचत्रिकर्मीको साथमा नेवाः चलचित्र क्षेत्रको समस्या, आवश्यकताको सम्वोधनका लागि राज्य तहमा सम्वादलाई अगाडी बढाउने बताउनुभयो ।

सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई एक ढिक्का बनाउँदै आदिवासी जनजाति चलचित्रकर्मीको पनि साथ लिएर मातृभाषी चलचित्र क्षेत्रको बृहत्तर विकासमा सोसाईटीलाई सक्रिय बनाउने राजोपाध्यायको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV