३ आश्विन २०७८, आईतवार

काठमाडौं । सिंहदरबारमा सीमित रहेको केन्द्रीय शासन गाउँगाउँमा पुर्याउँदा मजाक उडाइएको भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबारको शासन पालिकाबाट हुन थालेको बताउँदै त्यहाँ देखिएका कमजोरी भने व्यक्तिविशेष रहेको रहेको उनले बताए ।

‘कतिपयले सिंहदरबारको मजाक उडाउने गरेका छन् । सिंहदरबारको अधिकार गाउँमा पुर्याउने भनेका थिए, यस्तो उस्तो भनेर ।  सिंहदरबार भनेको लगेर, बोकेर पुर्याउने होइनन नि । अधिकार जुन सिंहदरबारमा थिए, ती स्थानीय तहसम्म गएका छन् । शिक्षा, स्वास्थ्यलगायतका तमाम अधिकार सिंहदरबारसम्म पुर्याएका छौँ । हाम्रो संविधानले पुर्याएको छ । तसर्थ, सिंहदरबार भनेको केन्द्रीय शासन हो । पहिले केन्द्रबाट शासन हुन्थ्यो भने अब पालिका पालिकाबाट शासन हुन्छ भनेको,’ उनले भने, ‘कतिपय कुराका प्रयोगमा कमजोरी हुन सक्छन्, त्यो व्यक्ति र कर्ताको कमी हो । तर, संवैधानिक कमी होइन । त्यसैले एकात्मक अर्थात् केन्द्रीय शासनलाई विकेन्द्रित गरेका छौँ ।’

उनका अनुसार आफ्नो प्रधानमन्त्री कालमा सिंहदरबारको अधिकार गाउँमा पुर्याएर केन्द्रको शासन विकेन्द्रित भएको छ । साथै, अहिले स्थानीय तहमा देखिएका केही कमजोरी भने संवैधानिक नभई व्यक्तिवादले निम्ताएको उनको भनाइ छ ।

असोज ३ मा मनाइने संविधान दिवसको सबैलाई शुभकामना दिँदै अध्यक्ष ओलीले संविधानको पहिलो स्रोत जनता नै भएको बताएका छन् । संविधान जनताविन बन्न नसक्ने र संविधानको प्रत्याभूति जनताबाट नै हुने उनको भनाइ छ ।

उनले भने, ‘जनता नै सम्पूर्ण शक्ति हुन् भन्ने कुरा लिपिबद्ध गरेर देशको मूल कानून संविधानमा उल्लेख छ । सबैभन्दामाथि कुल, घराना, व्यक्ति, परिवार होइन जनता सर्वाेपरी हुन्छ । संविधान जनताबाट चुनिएका वास्तविक प्रतिनिधिबाट बन्छ । जनतामा रहेको सार्वभौमसत्ता, सम्पूर्ण शक्तिका स्रोत हुने कुराको प्रत्याभूति संविधानमार्फत् हुन्छ । यसर्थ संविधानको सर्वाेच्चता भनेर हामी भन्छौँ । र, यो दिन संविधानको सर्वाेच्चता कायम भएको दिन हो ।’

२००७ सालमा राजनीतिक परिवर्तन भएपछि जे सोचिएको थियो त्यो अनुसार परिवर्तन नभएको र संविधान पनि नबनेको ओलीको भनाइ छ । केवल राजतन्त्रलाई स्वच्छाचारी बनाउने र त्यसलाई नै टेवा पुर्याउने काममात्र भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV