२ आश्विन २०७८, शनिबार

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गतेपछि सरकार विस्तार हुने बताएका छन् । शनिबार (आज) जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताए ।

अध्यक्ष प्रचण्डले असोज ४ गतेपछि सरकार विस्तार हुनेमा कुनै शंका नभएको ठोकुवा समेत गरे । त्यस्तै उनले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दाबी गरे । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएतापनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरहने बताए ।

केपी ओलीको पालामा एमसीसी सम्झौतामा गडबडी भयो

अध्यक्ष प्रचण्डले मुलुकमा विवादित बन्दै गएको एमसीसीको विषयमा केपी ओलीको पालामा एमसीसीको सम्झौतामा गडबडी भएको बताए । विकासको लागि पैसा चाहिएको हो तर त्यसको लागि सम्पूर्ण दलहरुसँग छलफल गरेर यसलाई कार्यान्वयन तर्फ लग्नुपर्ने र संशोधन गरेर नेपालमा लागू गराउनुपर्ने आफ्नो धारणा उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले संविधानको सर्मथन गर्ने बेला संशोधन गर्ने सर्तमा आफूले हस्ताक्षर गरेको र अहिले पनि संविधान संशोधन हुन अझै बाँकी रहेको बताए । त्यस्तै, अर्को प्रसंगमा जनकपुरधामलाई महानगरपालिका बनाउनका लागि आफूले हर सम्भव प्रयास गर्ने र जनकपुरबासीलाई पनि आ–आफ्नो तर्फबाट पहल गर्न सल्लाह दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV