२ आश्विन २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि गठबन्धन दलहरु बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहहरु बिलाएर जाने बताएका हुन् ।

ओलीले मुलुकमा निर्वाचन हुन नदिन केही दलहरुले अलोकतान्त्रिक तवरले अनेक प्रपञ्च रचेको आरोप पनि लगाए । गठबन्धनमा रहेका दलहरुले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमाशा देखाएको टिप्पणी गरे ।

ओलीले अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गरे । आफुले भ्रष्टाचार अन्त्य गर्न प्रण गरेपनि अहिलेको सरकारले सेटिङमा अरबौंको भ्रष्टाचारको खेल सुरु गरेको र त्यसका लागि सरकारले अहिले करको दायरा हेरफेर गरेको अध्यक्ष ओलीले बताए ।

त्यस्तै अध्यक्ष ओलीले कर्मचारीलाई पनि सरकारले दुख दिन सुरु गरेको तर्क गर्नुभयो । ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरे । विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV