२ आश्विन २०७८, शनिबार

काठमाडौं । ‘थुलुङ (राई) सामा’, काठमाडौंले गोकर्णेश्वर नगरपालिका–४ स्थित ‘तोसिखोम’ सरसफाई कार्यक्रमको आयोजना गरेको छ । शनिबार ‘थुलुङ (राई) सामा’का कार्यबाहक अध्यक्ष भलाकाजी राईको नेतृत्वमा काठमाडौंको गोकर्णेश्वर–४ थुलुङडाँडास्थित नवनिर्मित ‘तोसिखोम’ सरसफाई र वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हो ।

वि.सं. २०७७ सालमा उक्त ‘तोसिखोम’ निर्माण गरिएको हो । नियमित कार्यक्रमकै रुपमा नवनिर्मित तोसिखोमको सरसफाई गरिनुका साथै तोसिखोम परिसरमा वृक्षरोपण गरिएको ‘थुलुङ (राई) सामा’का कार्यवाहक अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार रुद्राक्ष, एभोगाडो, काउलो, तेजपत्ता, कटुस, अमला, गुर्जो, पिपललगायतका १०० (सय)बोट बढी विरुवाहरु रोपिएको छ ।

उहाँले भन्नुभयो, ‘तोसिखोम सरसफाई र वृक्षरोपण हाम्रो नियमित वार्षिक कार्यक्रम हो । सोही अनुरुप आज एक–अर्कामा भेटघाट र तोसिखोम सरसफाई तथा वृक्षरोपण गरिएको हो ।’ त्यस्तै उहाँले किरातीहरुको महान पर्व उद्यौली र उभौली पनि अबदेखि थुलुङ समुदायले सोही तोसिखोममा मनाउने बताउनुभयो ।

यस्तै उहाँले आगामी दिनमा उक्त तोसिखोम परिसरमा थुलुङ राईको (पितृघर) ‘स्युम्दीनेम’ बनाउने योजना रहेको बताउनुभयो । उहाँका अनुसार तोसिखोम सरसफाई तथा वृक्षरोपण कार्यक्रममा सयौं थुलुङ राईहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV