२ आश्विन २०७८, शनिबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनताको चाहना र राष्ट्रको आवश्यकताभन्दा ठूलो केही हुन नसक्ने बताउँदै आफूले कानूनभन्दा बाहिर गएर कुनै काम नगर्ने धारणा राखेका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन् ।

त्यस्तै उनले संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेकाले संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताए । आवश्यक परे प्रतिनिधि सभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

उनले प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताए । सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मानका लागि पनि यस्तो व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विधि र विधान बनाउने क्रममा आफूले गरेको योगदानको मूल्याङ्कन गर्ने अवस्था आएको बताए । सभा चलाउनेदेखि सांसदहरुले पालना गर्नुपर्ने नियमका बारेमा जिम्मेवार हुनुपर्ने भन्दै उनले इतिहासको कठघरामा आनन्दित हुने काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बिधायन समितिका सभापति परशुराम मेघी गुरुङद्वारा लिखित नेपालमा कानूनको सामाजिक जाँच पुस्तक विमोचेन गरिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV