२ आश्विन २०७८, शनिबार

काठमाडौं । शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेला आयोजना गरियो । बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, बहेश बस्नेतलगायत नेताहरु उपस्थित थिए ।

निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रम हेर्दा कुनै दलकै कार्यक्रम आयोजना गरिएको जस्तो देखिन्थ्यो ।कार्यक्रम थियो, एमालेनिकट निजामती कर्मचारी संगठनको । कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्य एमालेनिकट निजामती कर्मचारी संगठनमा प्रवेश गरे ।

माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु माओवादी छाडेका  बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन् । बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भए पनि कर्मचारी संगठन समाहित भएको थिएन ।

तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ । माओवादीबाट एमालेमा आएका कर्मचारीहरुलाई एमाले अध्यक्ष अ‍ोलीको उपस्थितिमा नेता बादलले खादा ओढाएका थिए । बादलभन्दा अगाडि रहेका महेश बस्नेतले भने माओवादी छाडेर एमालेमा आएकाहरुलाई अविर लगाउँदै मुड्की जुधाएका थिए । अध्यक्ष ओली भने पार्टीमा प्रवेश गर्ने कर्मचारीहरुतिर हेर्दै खुसी देखिन्थे ।

शनिबार नै नेपाल निजामती कर्मचारी संगठनको बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ । बैठकले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV