२ आश्विन २०७८, शनिबार

चितवन । चितवनमा एक पुरुषको हत्या भएको छ । पूर्वी चितवनको राप्तीमा नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । बाटोमा हिँडिरहेका उनको छिमेकीले रड प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उहाँले जानकारी दिनुभयो । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV