१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त कृतिको जनकवि दुर्गालाल श्रेष्ठले आज कीर्तिपुरमा एक कार्यक्रमबीच लोकार्पण गरेका छन् ।

अधिकारकर्मीका रुपमा समेत नेपाली समाजमा परिचित लेखक मल्लको यस उपन्यासमा एकाँकी जीवन व्यतित गर्दै आएका नेवार मूलका एक अमेरिकी सैनिक आफ्नो पहिचान र थातथलो खोज्दै भक्तपूरको ताथली टेक्न आइपुगेको मर्मस्पर्शी कथा समेटिएको छ ।

शिकागोको एक अस्पतालमा पहिलो चोटि आँखा खोलेका कथाका मुख्य पात्र रोमुलस जन्मदेखि मातृ वात्सल्यबाट विमुख भएर असहाय केन्द्रमा हुर्किए । अमेरिकाको नागरिकता छ, सेनाको जागीर छ तर, त्यसबाहेकका नालीबेली ऊ आफैंलाई थाहा छैन ।

देवनागरी लिपिको आमाको नागरिकता प्रमाणपत्र एक मात्र उनको चिनो बन्यो । अमेरिकामै पढ्दै गरेका दुई नेपाली चेलीको सहयोगमा ऊ आफ्नी आमाको थातथतो भेटाउन समर्थ हुन्छ तर, त्यो धेरै अघि नै उजाडिसकेको हुन्छ ।

क्यान्सर रोगले थिलथिलो भइसकेको उनको शरीरले काठमाडौँकै नक्सालस्थित एक घरमा आश्रय पाउँछ । त्यही घरका बुढी आमा र दुर्घटनामा भाइ गुमाएका युवतीको ममता र स्याहार पाउँछन् । अमेरिका छँदा सम्पर्कमा आएकी अर्की युवती क्यान्सर विशेषज्ञबाट रोमुलसले काठमाडौँमा उपचार पाउँछन् ।

सधैंभरि अस्पताल, अनाथाश्रम र सैन्य शिविरभित्र खुम्चिएर बस्नुपर्ने नियतिबाट उम्कने उनको चाहना यहाँ पूरा हुन्छ । कहिल्यै न्यानो पारिवारिक सुख अनुभव गर्न नपाएका उनले आफ्नै जिद्दीमा अमेरिकाको कोलोराडो अस्पताल छाडे झै यहाँ पनि अस्पताल त्याग्छन् ।

उनी यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । उन्मुक्त जीवन पाउँछन् । भाषा सिक्छन्, स्थानीय संंस्कृति र परम्परा बुझ्छन् । कित्सकहरुले तोकेको मृत्युको घडी सेप्टेम्बर १७ लाई थोरै भएपनि धकेल्न सफल हुन्छन् । सधैँभरि झक्झक्याइरहने ‘आफूले आफूलाई चिन्नू’ भन्ने दार्शनिक सुकरातको भनाइलाई उनले यहाँ चरितार्थ गर्छन् ।

तिहारको म्हः पूजा (शरीर पूजा)मा सामेल हुन्छन् र त्यसलगत्तै उनले देह त्याग गर्छन् । रोमुलस इराकविरुद्धको अमेरिकी युद्धमा होमिए । युद्ध जिते । तर सार्वजनिक जमघटमा आफ्नो वास्तविक परिचय दिन नसक्दा उनी आफैंंसँग हारे । त्यही आत्मग्लानीले उनलाई लखेटिरह्यो ।

त्यसमाथि थपिन आयो असाध्य रोग । मृत्युबोधले हतास उनले वैभवपूर्ण अमेरिकी समाज त्यागे, प्रतिष्ठाको जागीर छाडे । तर, नेपालको माटो र हावापानीमा उनले शान्ति र शीतलता पाए । यहीँ उनले मुक्ति भेटाए ।

युद्धको विरोधमा जनसागर उर्लेको न्यूयोर्क शहर, इराकको युद्धभूमि मात्रै हैन भक्तपुर र काठमाडौँका ऐतिहासिक शहर र मन्दिरहरुमा पाठकलाई ओहरदोहर गराउन लेखक सफल छन् । भाषा परिष्कृत छ । शब्द चयनमा मिठास भेटिन्छ । नेपाल भाषा बोल्नेहरुकै लागि पनि कतिपय शब्दहरु नौलो लाग्न सक्छ । पुस्तक २०१ पृष्ठको छ । मूल्य रु ३०० राखिएको छ । मल्लको यो पाँचौँ उपन्यास हो ।

उपन्यासमाथि टिप्पणी गर्दै प्रा।मदनसेन बज्राचार्यले विश्व राजनीति र घटनाक्रमलाई सिलासिलाबद्ध ढङ्गले प्रस्तुत गर्दै नेवार समुदायको जीवन पद्धति र पूजा विधिलाई समेत लेखकले उपन्यासमा समेटेर जीवन्तता प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV