१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेर नेकपा एमालेतिरै गएका १० भाइविरुद्ध समाचार नलेख्न आफूनिटक पत्रकारहरुसँग आग्रह गरेका छन् ।

शुक्रबार पार्टीको कार्यालय उद्घाटपश्चात् नयाँबानेश्वरस्थित जनता डबलीमा समाजवादी प्रेस संगठनका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले छाडेर गएका आफूनिकट १० सांसदविरुद्ध समाचार नलेख्न आग्रह गरेका हुन् ।

कार्यक्रममा उनले छाडेर जानेहरूलाई सम्झिएर अब केही नहुने पनि बताएका थिए । साथै, पछिल्लो पटक पार्टी छाडेर एमोले जानेहरु फर्किएर आउन पनि उनले भने ।

‘छोडेर जाने गइसके। अब उनीहरुलाई सम्झिएर के हुन्छ र ? राजनीतिक यात्राका क्रममा कयौँ साथीहरुसँग यात्रा छुटेको छ । पछिल्लो पटक छाडेर जानेहरू हामीसँगै आइदिए त हुने थियो।’

नेकपा एमालेमा विवाद हुँदा नेपाललाई एमाले उपाध्यक्ष भीम रावल, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसालसहित १० जनाले साथ दिएका थिए । र, उनीहरुको आँडभरोसाले नेपाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घुँडा टेकाउन सरिक थिउ । तर, नेपाललाई उचाल्ने १० भाई नेपालको साथ छाडेर एमालेमै फर्किएका छन् ।

तैपनि छाडेर गएका १० स्थायी कमिटी सदस्यहरुलाई अपमान हुने गरी कुनै समाचार नलेख्न नेपालले आफूनिकट पत्रकारहरुलाई आग्रह गरेका छन्।

कार्यक्रममा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिगार्ने काम एमालेकै तीन नेताले गरेको पनि अध्यक्ष नेपालले आरोप लगाएका छन्।

ती तीन नेतामा एमाले अध्यक्ष ओली, एमाले सचिव प्रदीप ज्ञवाली र पूर्व अर्थमन्त्री एवम् अमेरिकामा नेपाली राजदूत डा. युवराज खतिवडा रहेका छन् ।

साथै, अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने अध्यक्ष नेपालको भनाई छ । उनका अुनसार सुरक्षा स्वार्थसँग नजोडिएको पुष्टि नभएसम्म पास हुन सक्दैन ।

अन्तमा पार्टी एकताबारे हल्ला चलेको विषयमा कसैको पछि नलाग्न पनि अध्यक्ष नेपालले भनेका छन् । उनका अनुसार अहिलेको गठबन्धन आगामी चुनावसम्म पनि यथावतै रहन्छ तर, एकता गरेर मिल्ने कुरा गलत प्रचार हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV