१ आश्विन २०७८, शुक्रबार

रौतहट । मुलुकको लाइफ लाइनकोरुपमा रहेको महेन्द्र राजमार्गका धेरै ठाउँमा खुला एम्बुस झै गरेर खाडलहरु बनेका छन् । विक्रम सम्वत २०१९ सालमा तत्काली राजा महेन्द्रले निर्माण गरेको यो राजमार्गमा हालसम्म त्यस्तो ठूलो कुनै सुधार गरिएको छैन । बिग्रिएको, भत्किएको र पहिरो खसेको ठाउँमा बेलाबेलामा मर्मत गरिएपनि धेरै ठाउँमा बनेका खाडलहरु पुर्न कुनै तदारुकता देखाइएको छैन । जस्को कारण रौतहटको धन्सारदेखि सर्लाहीको सीमा बाँकेसम्मको २७ किलोमिटर सडकको अवस्था नाजुक छ ।

सडकको अवस्था नाजुक हुँदा विरामी, गर्भवती तथा सुत्केरी महिला र वृद्धवृद्धा यात्रुले कठिनाई भोग्नु परेको छ । राजमार्गको दुरावस्थाका कारण गत तीन आर्थिक वर्षमा यस राजमार्गमा ४ सय ७६ सवारी दुर्घटना भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । उक्त दुर्घटनामा परेर १ सय ५३ जनाले ज्यान गुमाएका छन् । झण्डै ६ दशकदेखि अघि निर्माण भएको सडक विगत केही बर्षदेखि टालाटुलीको भरमा नै चलाइदै आएको छ ।

दुर्घटनाको जोखिम बढेको गुनासो

सडकमा जताततै परेका खाल्डाखुल्डीले यात्रुहरुका साथै चालकहरुले पनि पाउनुसम्मको सास्ती पाएका छन् । सडकमा परेको खाडलले गर्दा दुर्घटना बढेको चालकहरुको गुनासो छ । खुल्ला एम्बुस झै बनेका खाल्डाहरुले गर्दा सवारी चलाउन निकै चुनौतीपूर्ण बनेको चालकहरुको अनुभव छ ।

सडक टालाटुलीको भरमा, १५ दिन पनि टिक्दैन

राजमार्गमा रहेका यस्ता खाडलहरु टाल्न सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले बेलाबेलामा कालोपत्रे गर्ने गरेको छ । तर त्यो टालाटुली १५ दिनपनि टिक्दैनन् र राजमार्ग फेरि खाडलमार्ग बन्छ । यसरी टालाटुलीमै राज्यको करौडौ रकमखर्च हुने गरेको छ । एकपटक टालाटुली गर्दा करिब २०÷३० लाख खर्च हुने डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको भनाइ छ ।

४ सय ७६ दुर्घटना, १ सय ५३ ले ज्यान गुमाए

राजमार्ग टाल्ने र भत्कने नियमित प्रक्रिया जस्तै भइरहेको छ । राजमार्गको दुरावस्थाका कारण गत तीन आर्थिक वर्षमा रौतहट क्षेत्रमा पर्ने राजमार्गमा मात्र ४ सय ७६ सवारी दुर्घटना भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । यी दुर्घटनामा परेर १ सय ५३ ले ज्यान गुमाएका छन् । गत साउन महिनामामात्र राजमार्गमा ९ सवारी दुर्घटना भएकोमा ५ जनाले ज्यान गुमाएका छन् ।

बिरामीलाई अस्पताल पुर्याउनै समस्या : एम्बुलेन्स चालक

राजमार्गमा खाडल भएकै कारण साना गाडी र मोटरसाईकल चलाउन समेत समस्या भएको छ । खाल्डाखुल्डीले मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारी दुर्घटनामा पर्ने खतरा बढेको छ ।

सडकका खाडलहरुले गर्दा एम्बुलेन्सबाट अस्पताल जाने बिरामीहरुलाई पनिनिकै सकस पर्ने गरेको छ । सडकका खाडलहरुले गर्दा गम्भीर बिरामी गर्भवती, सुत्केरी महिलाहरुलाई अस्पतालमा पु¥याउन एम्बुलेन्स चालकहरुकका लागि चुनौतीपूर्ण रहेको छ ।

कहिलेसम्म टालाटुलीमा चलाउने राजमार्ग ?

पाँचदशक अघि निमार्ण भएको पूर्व पश्चिम राजमार्गलाई स्थायीरुपमा मर्मत गरिनुपर्ने र टालाटुलीको भरमा सञ्चालन गर्न नहुने स्थानीयको माग छ ।

दैनिक ५ हजार बढी सवारी ओहोरदोहार गर्ने राजमार्ग अहिले खाल्डै खाल्डाको मार्ग भएको छ । पचास वर्ष पुरानो राजमार्ग डिभिजन सडक कार्यालयले वर्षेनी टालेर काम चलाउँदै आएको छ । तर सरकारले यसको दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने आवाज उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV