१ आश्विन २०७८, शुक्रबार

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाको कार्यालयमा व्यापक अनियमितता भएको आरोप लगाउँदै स्थानीय युवाहरुले तालाबन्दी गरेको छ । छ बुँदे मागहरु राख्दै कल्याणपुर नगरपालिकाका स्थानीय युवाहरुले नगरपालिकाको कार्यालय भवनमा आज विहीवार तालाबन्दी गरेका हुन् ।

नगरपालिकामा व्यापक अनियमितता भएको र बिभिन्न विकास निर्माणको काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दा समेत सूचना नदिएको युवाहरुको आरोप छ । नगर सभाबाट पारित भएका निर्णयहरु समेत सार्वजनिक नगरेको भन्दै स्थानीय युवाहरु नगरपालिकाविरूद्ध आन्दोलित बनेको हुन् ।

छोरा रकमसहित पक्राउ परेपछि मेयर निलम्बित

कल्याणपुर नगरपालिकामा अनियमितता भ्रष्टाचार मौलाउदै गएको स्थानीयवासीको आरोप छ । केहि समय अगाडि नगरपालिकाका तत्कालीन नगरप्रमख मेयर सूर्यनाथ मण्डलको छोरा सन्तोष मण्डललाई ५ लाख नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धन कार्यालयको टोलीले पक्राउ गरेको थियो । सो काण्डमा मेयर मण्डलको संलग्नता देखिएपछि उनीविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि मेयर मण्डल निलम्बनमा परेका थिए । उनको मुद्दा विशेष अदालतमा चलिरहेको छ ।

उपमेयर यादवमाथि पनि आरोपै आरोप

अहिले नगर उपप्रमुख रोहिणी यादवले कार्यवाहक मेयरको कार्यभार सम्हालेकी छिन । उनी पनि भ्रष्टाचारमा लिप्त रहेको र विकासका योजनाहरु विभिन्न शीर्षकको योजना नै सञ्चालन नै नगरी रकम निकास गर्ने गरेको स्थानीय युवाहरुको आरोप छ ।

तालावन्दीप्रति आपत्ति
यता कल्याणपुर नगरपालिकाका उप मेयर समेत रहेकी कार्यवाहक मेयर रोहिणीकुमारी यादवले नगरपालिकाविरुद्ध भएको आन्दोलनप्रति आफु गम्भीर बनेको बताएकी छिन् । युवाहरुको बूँदागत मागलाई सम्बोधन गर्न वार्तामा बसेको तर केही युवाहरु वार्ताको विचैबाट उठेर नगरपालिकाको कार्यालयमा तालावन्दी गरेको बताइन । यस्मा आफ्नो आपत्ति रहेको उनको भनाइ छ ।

युवाले अघि सारेको ६ बुँदे मागहरू

  • कल्याणपुर नगरपालिकामा कर्मचारी व्यवस्थापन गर्ने गराउने
  • ११ नम्बर वडाको कार्यालय वडाध्यक्षको निजी घरमा रहेकोले सार्वजनिक भवनमा ल्याउने
  • नपाको ११ वटा वडाको मुख्य बजार कल्याणपुर बजारमा सार्वजनिक शौचालय निर्माण गर्ने
  • कल्याणपुर नपाको नगर सभाको निर्णय सार्वजनिक गर्ने
  • सार्वजनिक स्थान सूचना बोर्ड र नागरिक वडापत्रको व्यवस्थापन गर्ने
  • मिर्चैयादेखि कल्याणपुर सड़क खण्डको नगरपालिका क्षेत्र भित्र मर्मत तथा सम्भार गर्ने ।

आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८को आयव्यवको विवरण सार्वजनिक गर्न गरेको मागको पनि वेवास्ता गरिएको युवाहरुको आरोप छ ।

महालेखाले दियो खर्चमा सुधार गर्न सुझाव

यता महालेख परीक्षकले सार्वजनिक गरेको २०७८ को ५८ औ बार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६।०७७ मा कल्याणपुर नगरपालिकाले खाना तथा विविध शीर्षकमा मात्र ५८ लाख ८८ हजार ३५ रुपैयाँ खर्च गरेको छ ।

जबकि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, गरपालिकाले ऐन अनुसार नगरेको पाइएकाले खाजा तथा विविध खर्चमा नियन्त्रण गर्न महालेखापरीक्षकको प्रतिवेदनले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV