१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (असोज १ गते)देखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ ।

नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, सीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् ।

खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनफ्लावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ छूट दिनेछ भने भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीले जनाएको छ ।

चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्त्व बढेको कम्पनीले बताएको छ ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसलको सुविधा दिनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन सपिङका प्लेटफर्म प्रयोग गरी घरघरमै सुपथ मूल्यमा खाद्यान्न दिने भएको छ ।

गोगो २० एप र नेपाल फुड, सस्तो डिल नेपाल, मुकुन्डो नेपाल वेभ पोर्टलसँग सहकार्य गरी सुपथ मूल्यमा घरघरमै खाद्य वस्तु पुर्‍याउने कम्पनीले जनाएको छ । कम्पनीका गाडीबाट घरघरमै छुट मूल्यमै ढुवानी गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV