३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराइदिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

बर्दिया निर्वाचन क्षेत्र २ का सङ्घीय सांसद सन्तकुमार थारु र निर्वाचन क्षेत्र २ ‘ख’ बाट निर्वाचित दीपेश थारु नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट अपुग भएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाइ दिन आग्रह गर्नुभएको हो ।

उहाँहरूले राजापुर सिँचाइ आयोजनाको बजेट रु दुई करोड ५० लाख मात्र भएको भन्दै नियमानुसार नियमित मर्मतका लागि पनि रु १२ करोडभन्दा बढी बजेट पाउनुपर्ने माग गर्नुभयो । त्यस्तै बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन गर्नका लागि रु १२ अर्बको विस्तृत परियोजना प्रतिवेदन९डिपीआर० भएको तर प्रतिवर्ष बजेट रु २१ करोड मात्र प्राप्त हुने गरेको प्रदेशसभा सदस्य दिपेशले बताउनुभयो ।

नियमितरूपमा प्रतिवर्ष हालकै बजेट विनियोजन हुने हो भने आयोजना पूरा गर्न ४० वर्ष लाग्ने उल्लेख गर्दै उहाँले दुई वर्षमै सकाउने गरी बजेट उपलब्ध गराउन माग गर्नुभयो ।

त्यसैगरी कर्णाली नदी लालमटियास्थित इन्टेकबाट कर्णाली नदी दुई वटा धारमा छुट्टिएको पूर्वतर्फको गेरुवा खोलाले राजापुर र गेरुवा क्षेत्र कटान गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य दिपेशले बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुसारको जमिन छुट्याउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले नदीबाट कृषियोग्य जमिनमा बालुवा थुप्रिने चुनौती थपिएको भन्दै बालुवा थिग्र्याउने मेसिन९सिल्ट मेसिन० सहितको नहर निर्माण गर्न र कर्णाली तथा गेरुवामा बराबर हुने गरी पानी वितरण हुने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले त्यसका लागि वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जवाफमा मन्त्री भुसालले एकीकृत योजना बनाएर बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन कार्यलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले खेतीयोग्य जमिन कटान हुन नदिन र खेतीयोग्य जमिनको गुणस्तर ह्रास हुन नदिन अधिकतम पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजना प्रभावकारी तवरले अगाडि बढाउने विषयमा जिम्मेवारी बोध भएको छ, त्यहाँको कुलो पुनःनिर्माण तथा अगाडि बढाउन कोसिस गर्छु । बजेटको व्यवस्थापन गर्न पहल गर्छु ।”

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले सिँचाइ आयोजनालाई व्यवस्थित गर्न लागिपर्ने बताउनुभयो । त्यसैगरी जलस्रोत तथा सिँचाइ सचिव सागरकुरमार राईले कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्रोत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजापुर क्षेत्रबाट करिब रु तीन अर्ब ५० करोड बराबरको धान र रु एक अर्ब ५० करोड बराबरको गहुँ उत्पादन हुँदै आएको छ । नदीले दुवैतिर घेरिएको टापुमा कर्णाली नदी व्यव्यस्थापन आयोजनाबाट व्यवस्थित तटबन्धन कार्य सुरु हुनुपूर्व कर्णाली र गेरुवा नदीले ७३ किमी नदी किनारमा वार्षिक सरदर १०० हेक्टर जमिन कटान गरिरहेको त्यहाँका जनप्रतिनिधिको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV