३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।

भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माको सह-अध्यक्षतामा उक्त बैठक सम्पन्न गरिएको हो ।

बैठकले भारतको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकाले बैठकले परियोजनाले हासिल गरेको उपलब्धिमाथि सन्तुष्टि व्यक्त गरेको थियो ।

दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताए । नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडकहरु (१४ वटा प्याकेज÷ठेक्कामा विभाजित)को निर्माण हेतु भारत सरकारले सन् २०१६ मा नेरु. ८०० करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको थियो ।

उक्त सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV