३० भाद्र २०७८, बुधबार

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)का प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले सरकारले खोप लगाएका पर्यटकहरुको भिसा अनअराइभलको व्यवस्था गर्दै पर्यटन व्यवसायहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार (आज) काठमाडौंमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी)ले संयुक्तरुपमा आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित पर्यटन क्षेत्रका विज्ञहरुले कोरोना महामारीका कारण करिब डेढ वर्षदेखि ठप्प रहेको पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन माग गरेका छन् ।

सोही अवसरमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यवसायीलाई हाउगुजी बनाएको दाबी गरेका छन् । उनले पनि खोप लगाएका पर्यटकलाई अन अराइभल भिसाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

पर्यटन उद्योगलाई बचाउन र पुरानो लयमा फर्काउन सरकारले आवश्यक कदम चाल्नुपर्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV