३० भाद्र २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । नेपाल–भारत रेल्वे सञ्जाल जोडिएको वीरगन्ज–२५ सिर्सियास्थित सुख्खा बन्दरगाहमा बुधबार प्राइभेट कम्पनीको र्‍याक आइपुगेको छ ।

भारत लगायत तेश्रो मुलुकबाट नेपाल सामान आयात गर्दा भारतीय रेल्वे कम्पनी र कन्टेनर कर्पोरेशन लिमिटेड (कनकोर)को मात्रै र्‍याक आउने गरेकोमा बुधबारदेखि प्राइभेट कम्पनीको पनि र्‍याक वीरगन्जस्थित सुख्खा बन्दरगाह आएको हो ।

नेपाल र भारत सरकारबीच रेल्वे सर्भिस सेवा अन्तर्गत भएको सम्झौता अनुसार भारत सरकारले प्राइभेट कम्पनीलाई नेपाल आउन अनुमति दिएसँगै हिन्द टर्मिनलको ९० वटा कन्टेनरसहितको र्‍याक बुधबार विहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको हो ।

सुख्खा बन्दरगाहमा पहिलेदेखि नै भारत सरकारको स्वामित्वमा रहेको दुईवटा कम्पनीको मात्रै र्‍याक आइरहेको अवस्थामा २०२१ को जुलाईमा भएको सम्झौता अनुसार निजी कम्पनीको कार्गो रेल सर्भिस नेपालमा आइपुगेको नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

उनले आयातकर्ता व्यापारीहरुको माग अनुसार र्‍याकलाई बढाउँदै लैजाने बताए । तत्कालको लागि अहिले निजी कम्पनीको र्‍याक १ हप्तामा २ वटा मात्रै सुख्खा बन्दरगाहसम्म आइपुग्नेछ भने भारत सरकारको स्वामित्वमा पहिलादेखि नै आउँदै गरेको भारतीय रेल्वे कम्पनी र कन्टेनर कर्पोरेशन लिमिटेड (कन्कोर)को र्‍याक पनि आउने निर्देशक गजुरेलको भनाइ छ ।

यसरी नै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले भारत सरकारले निजी कम्पनीको र्‍याकलाई नेपाल आउन अनुमति दिएसँगै नेपाली आयातकर्ता व्यापारीहरुलाई सहज भएको बताए ।

उनले र्‍याक अभावकै कारण महिनौंसम्म कलकत्तास्थित हल्दीया पोर्टमा व्यापारीहरुको सामान थन्केर अनावश्यक डिटेन्सन चार्ज तिर्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै व्यापारीहरुको सामान समयमा गन्तव्यसम्म पुग्ने र भाडामा पनि कमी भएपछि व्यापारीहरुलाई सामान आयात गर्न सहज हुने बताए ।

यता भारत सरकारले नेपाल आउन अनुमति दिएको भारतीय प्राइभेट कम्पनी हिन्द टर्मिनलका आधिकारिक व्यक्ति अभिनव गुप्ताले तत्कालको लागि भारतको कलकतास्थित हल्दीया पोर्टबाट हप्ताको २ वटा निजी र्‍याक नेपालको सुख्खा बन्दरगाहसम्म सञ्चालन गर्न अनुमति दिएको बताए ।

हालसम्म भारतीय सरकारको स्वामित्वमा मात्रै रहेको दुईवटा कम्पनीको र्‍याक सुख्खा बन्दरगाह आउने गरेकोमा भारत सरकारले निजी कम्पनीको र्‍याक पनि नेपाल आउन अनुमति दिएसँगै हिन्द टर्मिनलको पहिलो र्‍याक बुधबार सुख्खा बन्दरगाह आइपुगेको बताउादै हल्दीया पोर्टबाट उद्योगी व्यापारीको माग अनुसार र्‍याकलाई बढाउँदै लैजाने बताए ।

विगतमा भारत सरकारको स्वामित्वमा रहेको २ वटा कम्पनीको र्‍याक एक महिनामा ७० देखि ८० वटा आउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV