३० भाद्र २०७८, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यही भदौ ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेर प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्मका लागि किन सारियो ? भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताएको छ ।

बुधबार (आज) एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘आफूलाई इच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्सेझैं हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ ।’

त्यस्तै, उनले समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारबाही अघि बढाउने काम भइरहेको पनि बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’

त्यस्तै विज्ञप्तीमा बजेटजस्तो संवेदनशील विषयमा सरकारले उदासीनता र गैरजिम्मेवार रवैया देखाएको भन्दै त्यसप्रति खेद व्यक्त गरिएको छ । लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको एमालेले ठहर गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘त्यसले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च बृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको छ । सन्तुलित विकासको अवधारणाअनुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गर्नपुगेको छ । साथै, सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवापूर्ण काम गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV