
कञ्चनपुर । छिमेकी भारतले नेपालको विकास र समृद्धिको यात्रामा सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । उस्ले नेपालको विकास निर्माणको काममा समय समयमा बिभिन्न सहयोग समेत गर्दै आएको छ । तर उस्को प्रतिबद्धता र व्यवहारमा कति फरक छ भन्ने उदाहरणहरु सीमा क्षेत्रमा प्रशस्तै देख्न पाइन्छ ।
नेपालमा हात हालेका धेरै योजना आयोजनाहरु कि अधुरै छाडेको भारतले धेरै योजना आयोजनाहरु अलपत्र पनि पारेको छ ।
पछिल्लो पटक महाकाली नदीमा नेपालकै ठूलो लगानीमा कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने चार लेनको पुल निर्माणमा भारतीय पक्षले गरेको असहयोग र दिएको दुःख हेर्दा जोकोही नेपालीको मन रुन्छ ।
बोली र व्यवहारमा पूरै असमान व्यवहार गर्दै आएको भारतीय पक्षले पुलसम्म जाने बाटो बनाउँन अवरोध गरेपछि निर्माण कम्पनीले तुइन जोडेर निर्माण सामग्री ढुवानी गर्न थालेको छ ।
स्थानीय प्रशासनले सहजीकरणका लागि बारम्बार आग्रह गर्दा पनि भारतीय पक्षले कुनै चासो नदेखाउँदा एउटा गतिलो योजना निर्माणमा बिलम्ब हुन पुगेको छ ।
भारतले बाटो बनाउन नदिएपछि तुइन जोडेर निर्माण सामग्रीको ढुवानी
कञ्चनपुरको भिमदत्त नगरपालिका र महाकाली नगरपालिका जोड्ने नेपालकै ठूलो लगानीमा चार लेनको पुल निर्माण हुँदैछ । तर पुलसम्म जाने बाटो महाकाली नदीले बगाएपछि निर्माण कम्पनीले तुइन जोडेर निर्माण सामग्री ढुवानी गर्दै आएको छ ।
चार पांग्रे गाडी र ठूला तौल भएका निर्माण सामग्री दोधारा चाँदनी लैजान भारतीय पक्षले अवरोध गर्नुका साथै दुःख दिन थालेपछि निर्माण कम्पनीले तुइन जोडेर निर्माण सामग्री ढुवानी गर्दै आएको हो ।
बिभिन्न वहानावाजी गर्दै दुःख दिन छाडेन भारतले
कञ्चनपुरको सदरमुकामबाट दोधारा चाँदनीसम्म चार पांग्रे गाडी र भारी योजना भएका सामग्री ढुवानी गर्न शारदा ब्यारेज ९बनबासा पुल ० भएर भारतीय बाटो हुदै दोधारा चाँदनी पुग्न सकिन्छ । तर भारतीय पक्षले पुलको निर्माण सामग्री ढुवानी गर्दा ठेकेदारलाई केहि न केहि बहानामा दुःख दिदै आएको छ ।
कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको निर्माणाधीन पुल समयमै सक्न तुइन जोडेर भएपनि निर्माण कार्यलाई तीब्रता दिएको हो । असारमा महाकालीमा आएको बाढीले चारलेनको पुल जोड्ने बाटो नै बगाएपछि निर्माण सामग्री लैजान भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता आइपरेको हो ।
अवरोधकाबीच निर्माणको ७२ प्रतिशत काम सम्पन्न
निर्माणमा प्रयोग हुने यातायातका साधन र निर्माण सामग्री निर्वाधरुपमा लैजान भारतीय पक्षले अवरोध गर्दै आएको छ । हालसम्म निर्माणको ७२ प्रतिशत काम सम्पन्न भएको छ ।
गत २०७४ साल भदौदेखि सुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुल अन्तर्गत ७।८ किलोमिटर लम्बाइको ६ लेनको पहुँच मार्ग कालोपत्रे भइरहेको छ ।
पुल योजना कार्यालय र जिप्रकाको आग्रहलाई सुनेन भारतले
भारतीय पक्षलाई महाकाली पुल योजना र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्माण समाग्री र यातायातको साधन आवतजावत गर्न सहजीकरण गरीदिन भन्दै पटक पटक पत्राचार गरे पनि कुनै सुनुवाई भएका छैन ।
भारतीय पक्षले अटेरी गरि दुःख दिन नछोडेपछि संघीय सरकारबाट नै यस्को लागि पहल हुनुपर्ने आवाज पनि उठन थालेको छ ।
एकातीर ठेकेदारले तुइन जोडेर भएपनि निर्माण कार्यलाइ समयमै सक्ने जमर्को गरी राखेको बेला महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउज ढुङ्गा नपाउँदा तटबन्ध निर्माणको काम नै रोकिएको छ ।
पुलको दुवैतर्फ पाँचहजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको हुँदा नदीको पारि र वारि गरी दुवैतर्फ २ हजार ७ सय मिटर लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ ।
पुलको दुवैतर्फ १।२ वर्ग किलोमिटर क्षेत्रफलका दुईवटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
बाँध बाँध्न ढुंगा पनि दिएनन स्थानीयवासीले
बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्छ । बाँधका लागि ७० प्रतिशत ढुङ्गा २६० किलोग्राम भन्दा बढी तौलका चाहिन्छ ।
ढुंगाका लागि केही समय अघि महाकाली पुल योजना कार्यालयले स्थानीय तह र प्रशासनसंग समन्वय गरी महेन्द्रनगरको उत्तरमा रहेको चुरेको फेदबाट ठुला ढुंगा ल्याउन थालेपनि स्थानीय उपभोक्ताको विरोधपछि त्यो रोकिएको छ ।
महाकाली पुल योजना कार्यालयले पुलको पोखरी निर्माण र बाधको लागि आवश्यकढुङ्गा नपाएपछि डिजाइन परिवर्तनका लागि विभागमा पत्राचार गरेको थियो ।
तर विभागबाट डिजाइन परिवर्तन नहुने भएपछि महाकाली योजना ढुङ्गाको लागि स्थानीय सरकार र केन्द्रको निर्णयको आशामा बसेको छ ।
(भिडियो)