३० भाद्र २०७८, बुधबार

मोरङ । गैडाका छाला जस्तै चाम्रो भएका छन् – नेपालका क्रसर उद्योगहरु । जति भने पनि र जति नै आन्दोलन गरे पनि नबिझाउने । उच्च तहबाट पाएको आर्शीवादका कारण कानमा तेल हालेर बसेका यस्ता उद्योगहरुका कारण पानीको स्रोत जताततै सुक्न थालेको छ ।

क्रसर उद्योगहरुले गरेको मनपरी उत्खननका कारण वातावरणमा पारेको असरले धेरै भूभागहरु मरुभूमिकरणको जोखिम बढ्दो छ । तर राजनीतिक दल, कमाउ धन्दामा लागेका तिनका नेताहरु, आफ्नोमात्र भविष्य सोच्ने जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनको आडमा मौलाएको क्रसर व्यापार तत्काल रोकिने कुनै सकेत देखिन्न ।

देशभर मौलाएको यो व्यापारले मुलुकले निकै ठूलो अनिष्ट भोग्नु पर्ने खतरा बढ्दो छ । तर पनि क्रसर व्यवसायलाई नियम र कानूनको दायरा भित्र ल्याउन कुनै बहादुर अझैसम्म सिंहदरबारमा पुग्न सकेको छैन ।

यही कमजोरीका कारण मोरङको केराबारी गाउँपालिकामा स्थानीय जनप्रतिनिधिको आडमा मौलाएको क्रसर व्यवसायले सिंगो वस्ती जोखिममा पारे पनि उस्को चाल अझै उस्तै छ । स्थानीयवासीले क्रसर व्यवसायविरुद्ध धेरै पटक आन्दोलन गरे तर क्रसर व्यवसायीको पैसा र पहुँचको आडमा उनीहरुको आन्दोलन हरेक पटक निस्तेज बन्दै गएको छ ।

मोरङको केराबारीमा जनप्रतिनिधिकै आडमा मौलाएको क्रसर व्यापार

जनप्रतिनिधिकै मिलेमतो र प्रत्यक्ष संरक्षणमा जथाभावी भइरहेको प्राकृतिक स्रोत दोहनले मोरङको केराबारी गाउँपालिकास्थित खदम खोलामा पैसावालाको रजाइँ चल्ने गरेको छ ।

क्रसर व्यवसायीले पैसा र पावरको भरमा साना व्यवसायीहरुलाई खुट्टा टेक्न नदिएको र गाउँपालिकाका अध्यक्ष, कर्मचारी र केही व्यवसायीहरुले पहुँचका भरमा खोला उत्खननमा मनलाग्दी रजाई गरेको स्थानीयको आरोप छ ।

कोरोना संक्रमणको समयमा लकडाउन गरि जनतालाई घरमा बस्न लगाएर गाउँपालिका अध्यक्ष रोहित कार्कीले व्यवसायी भीम पौड्यालसंगको मिलेमतोमा एवं प्रहरीको सेटिङमा मापदण्ड विपरीत उत्खनन गरि गिटी बालुवा झिकेको स्थानीयको दावी छ ।

निजी जग्गा भन्दै पौडेलले १० मिटरभन्दा वढी गहिरो खाडल बनाई लाखौं घनमिटर गिटी बालुवा झिक्दा समेत प्रहरी र जनप्रतिनिधि मुकदर्शक बन्ने गरेका छन् ।

गाउँपालिका अध्यक्षले दिए आफन्त र नजिकका व्यवसायीलाई अवसर

गाउँपालिका अध्यक्ष रोहित कार्कीले खोलामा एक ट्याक्टर गिटी नभएका आफन्त र नजिकका व्यवसायीलाई हजारौं घनमिटर गिटी बालुवा उत्खननको अनुमति दिएका छन् । यससबारे कर्मचारीलाई प्रश्न राख्दा उनीहरुले आलटाल गरी फोन नै बन्द गर्ने गरेका छन् ।

स्टकको प्रमाणपत्र पनि दिइयो यसरी

असारको तेस्रो साता केराबारीमा निषेधाज्ञा जारी रहेको समयमा कार्कीले सुन्दरहरैंचाका आश्री इञ्जिनियरिङ एण्ड बिल्डर्सलाई १३ हजार ८ सय ४ मिटर गिटीबालुवा खोलामा स्टक रहेको र सो गिटी बालुवा भदौं मसान्तसम्म उठाई सक्न भन्दै स्टक नै नभएको कम्पनीलाई स्टक प्रमाणित पत्र दिएको कागजपत्र फेला परेको छ ।

यद्यपि आश्री कम्पनीको खदम खोलामा एक ट्याकटर पनि गिटी बालुवा नरहेको स्थानीय बताउछन् । स्टक प्रमाणित नगरी गिटी बालुवा अन्यत्र विक्री गर्न पाइँदैन । स्टक प्रमाणित गरेपछि नियमानुसार पालिकालाई कर वुझाउनुपर्छ ।

तर गाउँपालिकाले सवै व्यवसायीको कहाँ के कति मात्रामा गिटी वालुवा स्टक रहेको छ ? सो गिटी बालुवा कहाँबाट ल्याएका हुन् भन्ने कुराको गाउँपालिकाले रेकर्डसमेत राख्ने गरेको छैन ।

स्थानीयवासीको आक्रोश

स्थानीयले बाटो खाल्डो पुर्न एक ट्याक्टर गिट्टी पाउँदैनन् । तर व्यवसायीले भने जतिपनि जहिले पनि निकाल्न सक्छन् । आफुहरुलाई चोर भन्ने गरेको तर उनीहरु आफैलले चोर्न सिकाउँने गरेको भन्दै स्थानीयवासीले पत्रकार सम्मेलन नै गरेर आक्रोश पोखेका छन् ।

उर्लेको त्यो आन्दोलनलाई पनि निस्तेज पारे गाउँपालिका अध्यक्ष कार्कीले

यसअघि क्रसर व्यवसायी भीम पौडेलले अनाधिकृत रुपमा उत्खनन गरेको र खदम खोलामा मापदण्डविपरीत उत्खनन रोक्नुपर्ने माग राख्दै केराबारी ८ का स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनका क्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की कार्यालयको मुल गेटमा ताल्चा लगाएर बसेको भन्दै दिनभर कार्यालय बाहिर नाराबाजी गरेका थिए । त्यसपछि गाउँपालिकाको झ्यालको सिसा र शिवम क्रसर उद्योगको काउण्टर समेत स्थानीयवासीले तोडफोड गरेका थिए ।

सबै नेताहरुकै लगानी

केराबारीको वडा नं. ८ आमजुंगीवस्तीमा कृष्ण, महादेव, शिवम गरी तीनओटा क्रसर संञ्चालनमा छन् । सवै क्रसरमा गाउँपालिका अध्यक्ष रोहित कार्कीको लगानी रहेको छ ।

यसबाहेक शिवममा वडा नं. ३ का वडाध्यक्ष भक्त श्रेष्ठ, नेपाली काँंग्रेसका सभापति प्रकाश बस्नेत, रोहित कट्वाल जंगराज भूजेल र महादेव क्रसरमा वडाध्यक्ष मनोज खड्का, केशव बराललगायतका स्थानीय व्यवसायीहरुको शेयर रहेको बताइएको छ ।

जनप्रतिनिधि र प्रहरीकै संरक्षणमा यहाँका खोला र बस्ती नजिकको निजी जग्गाबाट उत्खनन् भइरहेको छ । केरावारी ८ आँमजुगी वस्ती उत्तरपश्चिम खदम खोलामा ठेकेदारले १० मिटरसम्म गहिरो खाल्डो पर्ने गरि खोलामा माछा पोखरी झै निर्माण गर्दासम्म चुँसम्म नबोल्ने जनप्रतिनिधि र आँखै अगाडि अवैध उत्खनन् हुँदासमेत नदेख्ने प्रहरीका कारण खदम खोलाको दक्षिण भेगमा मरुभूमिको खतरा बढेको छ ।

यस्तै उत्तरी चुरे तथा पहाडी क्षेत्रमा पहिरो भूक्षय बढ्न गई पिउने पानीको स्रोत सुक्दै गएको छ । यस्तै हजारौ विघा उर्वर जमिनमा सिचाई सेवा पुर्याउदै आएको कुलो पैनीमा पानी चढाउन समस्या हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले खोला नदी र वन क्षेत्रमा अवैध रुपमा क्रसर सञ्चालन भएको बताएपछि घरेलु कार्यालयका तत्कालीन प्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो ।

अनुगमनका क्रममा तीनओटा क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्लेख भएपनि कुनै कारबाही भएको छैन ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV