३० भाद्र २०७८, बुधबार

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमनसँग नेपाल पराजित भएको छ । मंगलबार मस्कटस्थित एमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमनसँग पाँच विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१।१ ओभरमै पूरा गर्यो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमनसँग नेपालको लगातार तेस्रो हार हो ।

ओमनलाई सहज जित दिलाउनको लागि जतिन्दर सिंहले शतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रन जोडे ।

त्यस्तै शोएब खान ७, अयान खान १८, कप्तान जिशान मक्सुद ४ र सुरज कुमार २० रनमा आउट भए । मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे ।

नेपालको लागि करण केसी र कुशल मल्लले २–२ तथा सुशन भारीले १ विकेट लिए । फिल्डिङका क्रममा घाइते भएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गरेनन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपाल ४७.४ ओभर खेली १ सय ९६ रनमा अलआउट भएको थियो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ९० रन बनाए थिए । उनले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

आसिफबाहेक अन्य खेलाडीले खासै राम्रो खेल प्रदर्शन गर्न सकेनन् । ओपनर कुशल भुर्तेल शून्यमा बाहिरिएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्लले २१ रन, बनाएको रोहित पौडेलले २०, सोमपाल कामीले सात तथा विनोद भण्डारीले छ रन जोडेका थिए । यस्तै कुशल मल्लले चार, बिक्रम सोबले दुई, करण केसीले २१ रन बनाएका थिए ।

ओमानका बिलाल खानले सर्वाधिक चार विकेट लिएका थिए। नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक÷एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV