२९ भाद्र २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१४ चिनिमिल आवासीय क्षेत्र नजिकै रहेको भाजुरत्न फर्मा प्राइभेट लिमिटेडले औषधि व्यवस्था विभागको निर्देशनलाई अटेरी गर्दै भारतबाट औषधि आयात गर्ने गरेको पाइएको छ ।

औषधि व्यवस्था विभागले निलम्बन गरेको भाजुरत्न फर्मा प्राइभेट लिमिटेडले भारतबाट आयात गरेको एक ट्रक औषधि प्रहरीले नियन्त्रणमा लिएको छ । भाजुरत्न फर्माको औषििध पैठारी दर्ता प्रमाण–पत्र २०७७ असार २७ गतेसम्म रहेको र त्यस पश्चात पाउने ३ महिनाको म्यादसम्म पनि नवीकरण नगराइकन भारतबाट औषधि पैठारी गरी विक्री वितरण गर्दै आएको कारण औषधी व्यवस्था विभागको टोलीले निरीक्षणको क्रममा भाजुरत्न फर्मालाई ९० दिनको लागि निलम्बन गरेको थियो ।

२०७७ साल चैत २७ गते औषधि विभागको निरीक्षण टोलीले गरेको निरीक्षणको क्रममा भाजुरत्न फर्मा प्राइभेट लिमिटेड (र.प.नं. ७००१) को औषधि पसल दर्ता प्रमाण–पत्र र नासिभियन एडल्ट १० एम.एल., नासिभियन पाइडिएट्रिक, नासिभियन मिनी १० एम.एल., नासिभियन एस ड्रप १० एम.एल., बेटामिल क्रिम २० ग्राम, पोलिबियन सिरफ १०० एम.एल., टोनोरिसिन २०% इन्जेक्सन ३० एम.एल. तथा सेभेन्सिज क्याप्सुलको औषधि पैठारी दर्ता प्रमाणपत्र नवीकरण नगरी औषधि आयात तथा वितरण गरेको पाइएकोले २०७८ साउन १ गतेको विभागीय निर्णय अनुसार ९० दिनका लागि निलम्बन गरेको थियो ।

निलम्बन पश्चात पनि उक्त फर्माले भारतबाट पुनः औषधि आयात गरेको कारण प्रहरीले पोलिबियन झोल औषधि ७ सय ८६ कार्टुन नियन्त्रणमा लिएर औषधि व्यवस्था विभाग वीरगन्जस्थित कार्यालयको जिम्मा लगाएको थियो । गत शनिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १६ नगवास्थितबाट चिकित्सकको सिफारिस र इजाजत बिना नेपाल भित्र्याइएको ठूलो परिमाणमा औषधि बरामद गरेको थियो ।

भारतबाट औषधि लिएर आउँदै गरेको ना.३ ख १३३५ नम्बरको ट्रकलाई चेकजाँचको क्रममा उक्त ट्रकमा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र नभएको पोलिबियन झोल औषधि ७ सय ८६ काटुन बरामद गरिएको थियो ।

बरामद गरिएको उक्त औषधि कसको हो ? भन्ने प्रहरीले सार्वजनिक नगरेपनि उक्त औषधि भाजुरत्न फर्माको रहेको र आवश्यक कारवाहीको लागि वीरगन्जस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पठाइएको विभागका फार्मेसी अधिकृत एवं निमित्त कार्यालय प्रमुख भाग्यनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीले आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभागको कार्यालयमा पठाएको पोलिबियन झोल प्रतिबन्धित नभई नेपाल सरकारबाट मान्यता प्राप्त र भन्सार जाँच पास भई नेपाल भित्रिएको औषधि रहेको बताए । उनका अनुसार विगत लामो समयदेखि भाजुरत्न फर्मा प्रा.लि.ले भारतबाट औषधि आयात गरि विक्री वितरण गर्दै आएको अवस्थामा अहिले आयातित औषधि पनि भन्सार पास भई नेपाल सरकारले नेपालमा विक्री वितरणको लागि अनुमति दिएको औषधि रहेको तर, भाजुरत्न फर्माको औषधि पैठारी दर्ता प्रमाणपत्र नवीकरण नरहेकोले विभागले कारवाही गरेतापनि त्यो आदेशनलाई उल्लंघन गर्दै औषधि आयात गरिएकोले कारवाहीका लागि उक्त औषधीहरुलाई सिल लगाएर भाजुरत्न फर्माकै गोदाममा राखिएको बताए ।

यसैगरि पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले चिकित्सकको सिफारिस र इजाजत बिना नेपाल भित्र्याइएको ठूलो परिमाणमा औषधि बरामद गरेको बताए । भारतबाट औषधि लिएर आउँदै गरेको ना.३ ख १३३५ नम्बरको ट्रकलाई प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवास्थित रोकेर चेकजाँच गर्दा ट्रक चालकसँग सम्बन्धित सिफारिस र इजाजतपत्रको कागजात फेला नपरेपछि नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार उक्त ट्रकबाट पोलिबियन झोल औषधि ७ सय ८६ काटुन बरामद गरिएको र त्यसको बजार मूल्य १३ लाख ४८ हजार ७ सय ७६ रुपैया रहेको छ । औषधिसँगै प्रहरीले ट्रक चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी सरोज मियाँ रहेका छन् ।

यता भाजुरत्न फर्मा प्राइभेट लिमिटेडका शाखा अधिकृत महेश्वरलाल हाडाले फर्माको औषधि पैठारी दर्ता प्रमाणपत्र नवीकरण नरहेको स्वीकारे । उनले कोरोना महामारीसँगै औषधि व्यवस्था विभागका कर्मचारी सरुवा जस्ता आन्तरिक समस्याका कारण औषधि पैठारी दर्ता प्रमाणपत्र नवीकरण हुन नसकेको भन्दै औषधि व्यवस्था विभागले गरेको कारवाहीलाई पनि पालना गरिएको दाबी गरे ।

दर्ता प्रमाणपत्र नवीकरण नरहेको कारण औषधि विभागको टोलीले २०७८ साउन १ गतेदेखि कारवाही स्वरुप ९० दिनको लागि निलम्बन गरेदेखि नै हालसम्म औषधि विक्री वितरण नगरिएको दाबी गर्दै विभागले कारवाही गर्नुअघि नै ७ सय ८६ कार्टुन पोलिबियन झोल रक्सौलमा आएर थन्केको र त्यस पश्चात आयातमा रोक लगाएपछि त्यहाँ उचित गोदामको व्यवस्था नभएको कारण बाध्यताबस आयात गरिएको बताए ।

रक्सौलमा करिब दुई महिनादेखि औषध राखिएको अवस्थामा गोदामको उचित व्यवस्था नभएको कारण घाम पानीले गर्दा विग्रनसक्ने अवस्थालाई मध्यनजर गर्दै भन्सार पास गराई औषधि आयात गरिएको थियो तर, कसैले गलत सूचना दिएर प्रज्ञापन पत्र भन्दा बढी अन्य सामानहरु उक्त ट्रकमा आउँदै गरेको भन्ने सूचना दिएको कारण प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर औषधि व्यवस्था विभागको कार्यालयलाई बुझाएको बताए ।

‘विभागले उक्त औषधिहरुलाई सिल लगाएर गोदाममा राखेको छ । दर्ता प्रमाणपत्र नवीकरण भएपछि मात्रै फुकुवा हुन्छ र विक्री वितरण गरिनेछ’, उनले भने, ‘जानी जानी गल्ती गरिएको छैन, हाम्रै कमजोरीको कारण दर्ता प्रमाणपत्र समयमा नवीकरण हुन सकेको छैन । त्यसले गर्दा रक्सौलसम्म ल्याई सकिएको औषधि विग्रिन सक्ने भएकोले आयात गर्न खोजिएको हो । तर, यसलाई प्रतिबन्धित औषधि भनेर अनावश्यक भ्रम फैलाइयो ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV