२९ भाद्र २०७८, मंगलवार
  • सविन लामिछाने,

तनहुँ । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित सोलार फार्म प्राइभेट लिमिटेडले विद्युत उत्पादन शुरु गरेको छ । फार्मद्वारा उत्पादित ५ मेघावाट सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको बेलचौतारास्थित सव स्टेशन मार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

फार्मबाट उत्पादित विजुली करिब ५ सय मिटर दूरीमा रहेको बेलचौतारा सबस्टेसनमा लगेर जोडिएको हो । बेलचौतारा सौर्य उर्जा परियोजनाको मंगलबार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भुषालले सोलार लगायतका नवीकरणीय उर्जामार्फत् गरिबी निवारण गर्न सकिने बताइन् । विद्युतको उत्पादन बढाएर ईन्धनको आयात रोक्न नवीकरणीय उर्जाको विकास गरी व्यापार घाटा कम गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो ।

फार्मले नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट ७ रुपैयाँ ३० पैसामा विक्री गर्नेछ । सोलार फार्म निजी क्षेत्रबाट नेपाल विद्युत प्राधिकरणसँग विद्युत बिक्री सम्झौता गर्ने पहिलो कम्पनी रहेको बेलचौतारा सौर्य उर्जा परियोजना भएको फार्मका अध्यक्ष मोहन गुरुङले बताए ।

फार्मका निर्देशक शंकरजंग गुरुङ्गले कुल ४३ करोड लगानीमा परियोजना सञ्चालन भएको जानकारी दिए । उक्त परियोजनमा कुमारी बैंक, डोल्मा इमप्याक्ट फन्ड, नेपाल कर्पोरेटिभ इन्भेस्टमेन्ट समूहसँगै एनआरएनए र स्थानीयवासीले समेत लगानी गरेका छन् ।

साथै सोलार फार्मले स्थानीयका लागि आईपीओ (प्राथमिक सेयर) जारी गर्ने अध्यक्ष गुरुङले बताए । आयोजनाबाट वार्षिक ८७ लाख युनिट विद्युत उत्पादन हुने जनाइएको छ । पीपीए सम्झौताअनुसार यहाँ उत्पादित पाँच मेगावटसम्म विद्युत प्रति युनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

पाँच मेगावट बढी भएमा प्रतियुनिट ३.६५ रुपैयाँका दरले आयोजनाले प्राधिकरणलाई बिक्री गर्नुपर्ने सम्झौता गरिएको छ । ६ वर्षमा लगानी सुरक्षित हुने कम्पनीको दाबी छ । सोलार फार्मले भानुभक्त बहुमुखी क्याम्पसको १ सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर आयोजना सञ्चालन गरेको हो । विद्युत उत्पादनका लागि १३ हजार ४ सय ९४ प्यानल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV