२९ भाद्र २०७८, मंगलवार

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाएका छन् । धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

त्यस्तै उनले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताउँदै एकताबद्ध भएर अगाडि बढ्न सबै नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

उनले भनेका छन्, ‘एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब । सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

त्यस्तै नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी पनि गरेका छन् । अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV