२९ भाद्र २०७८, मंगलवार

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा ५० करोडको संरचना बन्यो । पौडी पोखरी, भारोत्तोलन हल, सुटिङ हल, कभर्ड हल मर्मत, प्याराफिटसहितको आधुनिक रंगशाला बनेर तयार भयो । रंगशालाको फुटबल मैदानमा बर्मुडा दुबो रोपियो । आठौं राष्ट्रिय खेलकुद सकियो, त्यसपछि रंगशालाको करोडौको संरचनाको रेखदेख र व्यवस्थापन कसले गर्ने भन्ने बहस शुरू भयो । यो बहस अझै निरुपण भइसकेको छैन । अहिलेलाई संघ मातहत रंगशालालाई राखिएको छ ।

पछिल्लो दुई वर्ष कोरोनाकाल रह्यो । यो बीचमा रंगशाला बन्द नै रह्यो । कोरोनाको कहर कम हुँदै जाँदा फेरि रंगशालामा खेलाडीको उपस्थिति गराउने चर्चा चलेको छ । खेलाडीको उपस्थिति गराउने अर्थात् प्रतियोगिताहरू गराउन दिने तयारी गरिरहँदा रंगशालाको हालत भने दयनीय भएको छ ।

फुटबल मैदान र ट्र्याकमा घुँडाघुँडा घाँस थियो । प्याराफिट धुलैधुलो । घाँस काट्न र सरसफाइ गर्न कम्तीमा ५० हजार लाग्ने अवस्था छ । केन्द्रबाट दुई वर्षदेखि एक रुपियाँ पनि पठाइएको छैन । घाँस काट्ने एउटा मेसिन पनि बिग्रिएर थन्किएको छ । न त आवश्यक जनशक्ति नै छ ।आइतबार भैरवप्रसाद गण र जिल्ला प्रशासन कार्यालयबाट घाँस कटर मेसिन ल्याइयो । भैरवप्रसाद गणबाट नेपाली सेनाको टोली नै आयो । उनीहरूले मैदान, ट्र्याकको घाँस काट्न शुरू गरे । प्याराफिटमा झाडु लगाए । फुटबल मैदानमा ३६ लाखको बर्मुडा घाँस नामोनिसान देखिएको छैन । स्थानीय जातको घाँसले रंगशाला ढाकिएको छ । याे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV