२८ भाद्र २०७८, सोमबार

काठमाडौं । सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले खुलामञ्चमा एमसीसी विरुद्धको विरोध सभालाई सम्बोधन गर्नुअघि सिमसिम पानी परिरहेको थियो । सम्बोधनका लागि माइकतिर बढ्दै गर्दा ड्यासमा आसिन पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताहरु छाता ओढेर बसेका थिए ।

विप्लव हाँस्दै सभालाई सम्बोधन गर्न माइक मिलाउछन् । माइकमा केही गडबडी भएको जस्तो देखिन्छ । तर, माइक नबिग्रेर समर्थक÷दर्शकले केही अगाडि आएर सम्बोधन गर्न भनेबमोजिम नै उनी अघि बढ्न खोज्छन् ।

त्यसपछि तीन जना युवा आएर माइक मिलाउछन् । र, विप्लव सम्बोधन गर्न खोज्छन् । एक जना युवाले छाता ओढाइदिऊ भन्दा उनले छाता पर्दैन भन्छन् ।

‘पानी होइन हामी सबैभन्दा ठूलो आपत विपतसँग लडेर आएका मान्छे हौँ । हामीलाई त्यससँग (पानी) कुनै चासो छैन । आकाशमा कालो बाँदल मडारिरहेको बेलामा, देशमा साम्राज्यवादीहरुको नंग्रा गाढिरहेको बेलामा…’ भन्दै भाषण दिन्छन् ।

सभालाई सम्बोधन गर्नुअघि विप्लवले नेपालका लागि नेपाली अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको हातबाट पृथ्वीनारायण शाहको तस्बिर उपहारस्वरुप लिए ।

अधिवक्ता सुरेन्द्र भण्डारीले भनेका थिए, ‘तपाईंहरु सबैले ताली बजाइदिनुहोला। म कमरेड विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार दिनेछु ।’

राजा समर्थक रहेका अधिवक्ता सुरेन्द्र भण्डारीको हातबाट पृथ्वीनारायण शाहको फोटो विप्लवले हाँस्दै लिए । प्रकाण्डले ताली बजाए । पृथ्वीनारायणको तस्वीर उपहारस्वरुप लिएका विप्लवले पानीमा भिजेरै एमसीसीविरुद्ध भाषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV