२८ भाद्र २०७८, सोमबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद धरापमा परेको छ । प्रदेश १ का नेकपा एसका १० जना प्रदेश सांसदहरुले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकार प्रति विश्वास नरहेको निवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराएसंगै मुख्यमन्त्रीको पद धरापमा परेको हो ।

प्रदेश १ को प्रदेश सभामा नेकपा एसका प्रदेश सांसद सावित्री रेग्मीले १० जना सांसदहरुको हस्ताक्षर सहितको निवेदन दर्ता गराउनु भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार सचिवालयमा निवेदन दर्ता गराए संगै प्रदेश १ सरकार अल्पमतमा परेको छ ।

नेकपा एसबाट प्राप्त पत्र प्रदेश प्रमुखको कार्यालय र मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयलाई पठाइएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले नेपालको संविधान, प्रदेश सभा नियमावली र अन्य ऐन कानुन अनुसार आगामी प्रक्रिया शुरु गरिने बताउनु भयो ।

नेकपा एमालेका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले भने नेकपा एस बारे सर्वोच्च अदालतमा मुद्दा परेको र पार्टी रहने नरहने बारे टुङ्गो नलागेकोले प्रदेश सभा सचिवालयमा दर्ता गराएको पत्रको औचित्य नभएको बताउनु भयो । उहाँले अदालतले पार्टी टुक्रिएको फैसला गरेमा आफुहरुले प्रदेश सभामा विश्वासको मत लिने प्रक्रिया थाल्ने जानकारी दिनुभयो ।

प्रदेश १ को ९२ सदस्यीय प्रदेश सभामा ५१ जना नेकपा एमालेका सांसदहरु रहेकोमा नेकपा एसमा १० जना सांसदहरु प्रवेश गरेका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ ।

बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीमप्रसाद आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ भने गठबन्धन दलहरु बीच अबको सरकारको नेतृत्व कस्ले गर्ने भन्ने निर्णय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV