२८ भाद्र २०७८, सोमबार

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले चिकित्सकको सिफारिस र इजाजत बिना नेपाल भित्र्याइएको ठूलो परिमाणमा औषधि बरामद गरेको छ ।

चिकित्सकको सिफारिस र इजाजत विनाको प्रतिबन्धित औषधि भारतबाट नेपाल भित्रिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवाबाट बरामद गरेको हो ।

भारतबाट आउँदै गरेको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रक चालकसँग सम्बन्धित सिफारिस र इजाजतपत्रको कागजात फेला नपरेपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार भारतबाट औषधि लिएर आउँदै गरेको ना.३ ख १३३५ नम्बरको ट्रकलाई चेकजाँचको क्रममा उक्त ट्रकमा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र नभएको पोलिबियन झोल औषधी ७ सय ८६ काटुन बरामद गरिएको बताए ।

बरामद गरिएको उक्त औषधि खोकीको औषधि रहेको र त्यसको बजार मूल्य १३ लाख ४८ हजार ७ सय ७६ रुपैया रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

औषधिसँगै प्रहरीले ट्रक चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक वीरगन्ज महानगरपालिका वडा नं। २ छपकैया निवासी सरोज मियाँ रहेका छन् ।

औषधि सहित ट्रक र चालकलाई आवश्यक कार्यवाहीका लागि वीरगन्ज स्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयमा पठाइएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV