२८ भाद्र २०७८, सोमबार

वीरगन्ज (पर्सा) । वीरगन्जमा बम पड्काई जनमानसमा त्रास फैलाउने र उद्योगी व्यापारीहरुसँग धम्काएर पैसा माग्ने फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्ला साविक रामगढवा गाविस वडा नं.८ हाल वीरगन्ज महानगरपालिका वडा नं. २४ निवासी फुलहसन अन्सारी रहेका छन् ।

विगत दुई वर्ष अघि २०७६ साउन २४ गते वीरगन्ज – ४ वीर्ता स्थित बजारमा र चार दिन पछि २८ गते घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पड्काई जनमानसमा त्रास फैलाएको र वीरगन्जका उद्योगी व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई पैसा माग्ने अपराधिक कार्यमा संलग्न रही फरार रहेका अन्सारीलाई पर्सा प्रहरीले दुई वर्षपछि यही भदौ २८ गते विहान ४ बजेको समयमा पक्राउ गर्न सफल भएको हो ।

घटना भए लगतै यस अपराधिक कार्यमा संलग्न अन्य ३ जना पक्राउ परेर २ वर्ष ६ महिना कैद सजाय र २५ हजार नगद जरिवाना सहित कारागर भुक्तान गरि रहेको अवस्थामा मुख्य योजनाकार फुलहसन अन्सारी फरार रहेका थिए ।

घटना लगत्तै पर्सा प्रहरीले बम पड्काउने कार्यमा संलग्न सोही ठाउँ निवासी इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली तथा फिस्फोटक पदार्थ सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका तिनैजना माथि विस्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराध अन्तर्गत अनुसन्धान भई पर्सा जिल्ला अदालतबाट जरिवाना सहित कैद सजाय पाएकोमा मुख्य योजनाकार फुलहसन अन्सारी फरार रहेका थिए ।

सोही घटनामा संलग्न मुख्य योजनाकार फुलहसन अन्सारी घटनापश्चात् फरार भई निजको हकमा मुद्दा मुल्तबी रहेकोमा निज भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको र बेलाबखतमा भारतीय बजार रक्सौल आई वीरगन्जका उद्योगी तथा व्यापारीहरूलाई फोन मार्फत धाकधम्की दिई रकम असुली गर्दै आएका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा २०७८ भदौ २८ गते विहान ४।०० बजे वीरगन्ज महानगरपालिका वडा नंं. २४ रामगढवा स्थित आफ्नो घर आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका हसनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार निज हसनको विभिन्न अपराधिक पृष्टिभूमि रहेको बताए ।

अन्सारी कर्तव्य ज्यान मारेको मुद्दामा कारागार भुक्तान गरि ५६ प्रतिशत कारागार सजाय भुक्तान गरि गत २०७४ असोज ८ गते कारागार मुक्त भएका थिए ।

अन्सारी उर्फ विवेक सिंह २०६५ पुस ७ गते जिल्ला पर्सा वीरगंज उपमहानगरपालिका १३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गर्ने घटनामा संलग्न रही ३ (तीन) तहका सम्मानित अदालतहरूबाट सर्वस्व सहित जन्मकैद हुने ठहर भई कैद भुक्तान गरि सकेका छन् ।

उक्त मुद्दामा हसन बडादशैँको अवसरमा २०७४ असोज ८ गते ५६५ बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भई पुनः आपराधिक कृयाकलापमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

अन्सारी जिल्ला पर्सा विरगञ्जमहानगरपालिका २० अपौनीको विभिन्न अपराधमा संलग्न विदेशी साहको समूहमा आवद्ध भई थुप्रै पराधिक घटना घटाएको भन्ने बुझिन आएको छ ।

त्यस्तै, आफ्नो पहिचान बदली भारतको मुजफ्फरपुरमा बसी केही व्यक्तिहरू मार्फत फिरौति लिने लगायतका कृयाकलाप गर्दै आएको अनुसन्धानबाट खुलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV