२८ भाद्र २०७८, सोमबार

काठमाडौं । नेपालमा संसदको बैठक आह्वान गरिन्छ अवरोध गर्नकै लागि । संघीय संसद त्यो थलो हो जस्ले देशको भाग्यरेखाको निर्धारण गर्छ । तर यही संसदलाई यति निरिह पारिएको छ कि कहिले यो संसद सर्वोच्च अदालतमा पुगेर बन्धकी बस्छ त कहिले मारपिटमा उत्रेर तमाशा नै मच्चाउछ । कहिले पालो कस्को कहिले पालो कस्को ? कोही पनि संसदको गरिमाप्रति इमान्दार भने बनेनन, यो सत्य हो र त्यो सत्य नेपाली जनताले नियालिरहेका छ्न् ।

नेपाली जनताले देशको मुहार फेर्न छानी छानी दुःख गरि गरि प्रतिनिधि चुनेर पठाउँछन त्यो प्रतिनिधिसभामा । तर लाजमर्नु जनताका प्रतिनिधिहरु देश र जनताका हित गर्न छाडेर पाखुरा तेस्र्याउनमा नै व्यस्त छन् । संसदमा के भइरहेको छ । त्यो आम जनताले देखेकै छन् । आफ्नो अनुकल नै हुनुपर्छ संसद पनि । आफुले नै भनेको हुनुपर्छ । हिजो प्रतिपक्षमा बस्दा नेपाली काँग्रेसले तमासा देखायो अब तमाशा देखाउने पालो नेकपा एमालेको । चोइटिएर गएका माधवकुमार नेपालहरुलाई कारवाही गर्नुको सट्टा सांसदको हैसियत दिएको भन्दै मुर्मुरिएका छन् एमालेहरु । शुक्रबार संसदमा तमाशा देखाउँदा धेरै घिनलाग्दा दृश्यहरुको साक्षी बस्नु पर्यो नेपाली जनता ।

सके सभामुखलाई ढुट्याउन अघि सरेका एमाले सांसदहरुले भेटाए अर्थमन्त्रीको पनि सेखी नै झार्ने थिए । सभामुख अग्निप्रसाद सापकोटासंग आगो भएका एमाले सांसदहरु सापकोटालाई सिध्याएर मात्र संसद सञ्चालन गर्ने अभिष्ट पालेर बसेका छ्न । शुक्रबार अवरुद्ध भएको संसदले आइतबार पनि उही निरिहता भोग्यो । उही नियति भोगेपछि सभामुख सापकोटाले संसद स्थगित गर्नु शिवाय कुनै उपाय देखेनन् ।

एमालेहरुको माग छ आफ्नो दल छोडेर नेकपा एकीकृत समाजवादी बनेका १४ सांसदलाई सांसदको हैसियतबाट नहटाएसम्म संसद चल्न नदिने । एमालेको यो माग न पूरा हुने देखिन्छ नत एमालेले आफ्नो अडान नै छाड्ने सम्भावना छ । यही कारण संसद अब निरीह बन्ने पक्का छ । संघीय संसदलाई कुशलतका साथ चलाएर सबैका सभामुख बन्न पुगेका सुवास नेम्वाङले नै अब संसद चल्न गाह्राे भएको बताएपछि कुन व्यक्तिले बुझिदिने हुन् संसदीय सर्वोच्चता अब । संसदको गरीमा र सर्वोच्चताको परिभाषा व्याख्या गरेर नथाक्ने नेम्वाङले सभामुख सापकोटाले सूचना टाँसेर १४ सांसदलाई संसदबाट निकालेको सूचना टाँसेपछि मात्र संसद चल्न दिने सार्वजनिक घोषणा नै गरे ।

सत्ताबाट हट्नु र उत्रनु जोकोहीका लागि पनि पीडादायी हुन्छ नै । अहिले यही पीडाले पोलेको छ एमालेलाई पनि । त्यसमाथि माधवकुमार नेपालले अर्को पार्टी खोलेर संसदमा पावर शेयर गरेपछि एमालेले निल्नु न ओकल्नु बनेको प्रष्ट छ । कुनै पनि हालतमा नेपालको र नेकपा एकीकृत समाजवादीको अस्तित्व स्वीकार गर्ने पक्षमा नरहेको एमालेले अब संसदको सर्वोच्चतालाई पनि ललकार्ने निश्चित देखियो । दलहरुको अहम र टक्करको मारमा पर्दै आएको संसदमा कहिले काँही विजिनेशविहीन भएर बस्छ । तर धेरै कानूनहरु बनाउन बाँकी नै रहेको अवस्थामा संसदमा देखिएको टकरावको राजनीतिले अब निकास पाउनु साह्राे पर्ने पनि निश्चित छ ।

पुर्खाहरुले भन्थे – कहिं नभएको जात्रा हेर्न हाँडीगाउँमा जानु । तर हाँडीगाउँ पुग्नै पदैन अब संसदमा हेरे हुने भयो । अब यही पारा रहने हो भने संसदका टेबलु, कुर्सी, माइक सबै ठाउँमा उखेल्न नमिल्ने गरि किला नै ठोक्नु पर्छ । जसरी प्रदेश एकको संसदमा ठोकिएको छ । माइक निकालेर हान्न खोजेका दृश्यहरु शुक्रबार नै देखिए । अब बाँकी बैठकको तयारी का लागि पनि संसदमा सांसदहरुले हेल्मेट नै लगाएर जानु पर्ने अवस्था नआउला भन्न सकिन्न । किनभने देश विकासको होइन संसदको भाषा फेरिएको छ अब त्यहाँ अराजकतन्त्र लागू भएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोली फर्किएको छ । के कति खिचडी पकाएर फर्कियो त्यो देखिने छ नै । नेपाली स्वाभिमान बचाएकी बचाएनन या स्वाभिमानलाई बन्धकी राख्न बाँकी नै छ । त्यो देखिने छ नै । तर जुन फुर्ति लगाएर फतिमा फर्किइन उनको त्यो हाउभाउले धेरै विषयहरु सट्टापट्टा भइसकेको अनुमान लगाउन गाह्राे पर्दैन । फतिमाले के के कुरा फत्ते पारिन त्यो खुल्ने छ नै । तर हामीले दिन खोजेको होइन नेपालले मागेपछि दिन खोजेका हौ भन्ने अभिव्यक्ति विसाएर फर्किएकी फतिमाका चालढाल नै अर्कै छ । उनी निकै दंग पर्नुको पछि के के रहस्य छ त्यो रहस्य एक दिन खुल्ने छ नै ।

संसदमा नाटक मञ्चन गरेकाहरुले के जनताको ध्यान एमसीसी तिर नजाओस भनेर नै गरेका त होइनन । किनभने नेपालमा धेरै पटक यस्ता खेलाहरु भएका छन । जुन खेलाले जनताको आँखामा त छारो हालेको छ नै तर देशले पाउनु भन्दा धेरै थोक गुमाएको छ नै । तर यस्तो नहोस । कामना गरौं ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV