२८ भाद्र २०७८, सोमबार

रुपन्देही । विकासको कुरा छाड्ने हो भने धेरै स्थानीय तहका जतप्रतिनिधिहरु किर्ते काममा संलग्न भएको पाइन्छ । अझ आँखा चिम्म गरेर निर्णय गर्ने कर्मचारीको मालपोत कार्यालयमा कमि नहुँदा अहिले धेरैको जग्गा जमिनमा अरुहरुकै हक स्थापित भएको छ ।

स्थानीय तहका र मालपोतका कर्मचारीको मिलमतो खुबै सप्रिदा सोझा साझा जनताको जनधनको रक्षा अब भगवानले नै गरिदिनु पर्ने अवस्था आएको छ । त्यसमाथि बैंकका कर्मचारी समेत दाहिना हुँदा के चाहियो र ? अझ भारतीयलाई नेपाली नागरिकता दिने र तीनै भारतीयलाई नेपाली नागरिकको जमिनको मालिक बनाइदिएर अर्काको जग्गा उडाइदिनेसम्मका कार्यहरु यो देशमा सहजै हुन्छन् । मात्र कर्मचारी मिल्नुपर्छ, जस्तोसुकै असम्भव काम पनि सम्भव हुन्छ यो देशमा ।

‘अजब काशी गजब नेपाल’ भनाइलाई चरितार्थ गर्दै भारतीय नागरिकलाई नेपाली बनाएर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक स्थानीयको १० कठ्ठा १७ धुर जमिन विक्री गरेको पाइएको छ । बास्तविक जग्गा धनीको नाममा नक्कली नागरिकता बनाएर जग्गा पास गरिएको छ । जग्गा अर्कैका नाममा गएपछि पीडित परिवार न्यायको माग गर्दै भौतारिरहेका छन् ।

वडाध्यक्षले जग्गाको चारकिल्ला नदिनुको रहस्य

लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारका गरीब कोहाँरले आफ्नो नामको १० कठ्ठा १७ धुर जग्गा बैंकमा धितो राखेर ऋण लिने योजना बनाए । २०७७ माघमा वडा कार्यालयमा चारकिल्ला बनाउन पुगे । वडाध्यक्ष रमजान अली मियाँले चारकिल्ला बनाइदिएनन् । भोलिपल्ट स्थानीयलाई लिएर फेरि वडामा पुगे । उल्टो वडाध्यक्षले कोहारलाई नचिन्ने भन्दै धम्क्याए । भनाभन समेत भयो ।

चारकिल्ला नपाएपछि कोहाँरलाई चिन्ता बढ्यो । गाउँलेलाई सोधीखोजी गरिरहे । २०७८ साउनमा स्थानीयबीच हल्ला फैलियो, गरीब कोहाँरको जग्गा अर्कै मान्छेले आफ्नो बनाएर नापजाँच गरायो भन्ने । त्यसपछि स्थानीयको सहयोगमा कोहाँरको जग्गाबारे सोधीखोजी सुरु भयो । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो वडाध्यक्ष रमजान अली मियाँले नक्कली गरीब कोहाँर खडा गरेर नागरिकताको प्रतिलिपी निकालेर अर्कैलाई जग्गा विक्री गरिसकेको । त्यसपछि बल्ल खुल्यो सक्कली गरीब कोहारलाई वडाध्यक्षले चारकिल्ला नदिनुको कारण ।

सक्कली गरीब कोहारको ससुराली भारतको कोहरपुरवामा पर्छ । उनी प्रायः ससुरालीमा बस्छन् । नेपालमा भएको उनको घर भत्किएको छ । नेपाल आउँदा कोहाँर लुम्बिनीको वडानम्बर १० मधुवनीमा रहेको बहिनीको घरमा बस्छन् । प्रायः घरमा बसेको नदेखेपछि वडाध्यक्ष मियाँले उनको जग्गा विक्री गर्ने योजना बनाए । र, उनैले नक्कली गरीब कोहार खडा गरे ।

घटनाक्रम यसरी अघि बढ्यो

  • २०७७ माघ २५ गते :
    गरीब कोहारलाई जग्गाधनीको प्रमाणपत्र दिन वडा कार्यालयद्धारा मालपोतलाई सिफारिस
  • २०७७ फागुन १८ गते :
    वडा कार्यालयद्धारा नक्कली कोहारलाई चारकिल्ला र नागरिकताको प्रतिलिपीको सिफारिस
  • २०७७ फागुन १८ गते :
    पाल्पा मदनपोखरा ४ निवासी सन्दीप कार्कीलाई जग्गा विक्री
    १९ लाख ६७ हजार रुपैया थैली राखेर जग्गा किनेको मालपोतको रेकर्ड
  • २०७८ बैशाख १२ गते :
    कार्कीले कपिलवस्तुका गोविन्दप्रसाद मल्लाहलाई १ करोड ९५ लाखमा जग्गा विक्री
  • २०७८ साउन १२ गते :
    ग्लोबल आइएमई बैंक तौलिहवा शाखामा जग्गा धितो राखेर १ करोड ५० लाख रुपैयाँ ऋण झिकेको ।

जबकि त्यस ठाउँको जग्गा प्रतिकठ्ठा १०–१२ लाख रुपैयाँ भन्दा माथि छैन । जग्गा पास गरेको छोटो समयमै ठूलो रकम ऋण प्रवाह गर्ने बैंकको नियतमाथि पनि प्रश्न उठेको छ ।

मालपोतको मिलेमतो

यति धेरै प्रक्रिया पूरा गरी नक्कली मान्छेले जग्गा पास गरे । यस्मा मालपोतले कसरी सहजै षडयन्त्रको पक्षमा निर्णय गर्यो सबै आश्चर्यमा परेका छन् ।

नागरिकताको प्रतिलिपि लिएको प्रमाण छैन : जिप्रका

यता गरीब कोहारले आवश्यक छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै मालपोत कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसहित उजुरी दिएका छन् । उनको जोहरीमा आफ्नो जग्गा बिक्री गर्ने मुख्य योजनाकार वडाध्यक्ष रमजान अलि मियाँलाई दोष लगाइएको छ । पीडित कोहारले भदौ २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किर्तेमा संलग्न भएको भन्दै सात जनाविरुद्ध किटानी सहित जाहेरी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अर्कै फोटो टाँसेर गरीब कोहारकै नाममा प्रथम प्रतिलिपी नागरिकता जारी भएको छ । उक्त नागरिकतामा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ । तर, नागरिकताको प्रतिलिपी लिएको विवरण नभएको प्रशासनको दावी छ ।

दुई नियन्त्रणमा, वडाध्यक्ष फरार

पीडित कोहारको उजुरीपछि प्रहरीले लेखापढी व्यवसायी भागवतप्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । वडाध्यक्ष र अन्य फरार छन् । नक्कली गरीब कोहाँर भारतको वनकटहवाका नागरिक हुन् । उनी वडाध्यक्ष मियाँको ससुरा भएको स्थानीयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV