२७ भाद्र २०७८, आईतवार

दोलाखा । दोलखाको भीमेश्वर नगरपालिका–२ मा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठका अनुसार कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको भीमेश्वर मन्दिर सोमबार (भोलि)देखि पूर्ण रुपमा सर्वसाधारणका लागि खुला गरिएको हो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार भोलिदेखि (सोमबार)देखि सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर सर्वसाधारणका लागि मन्दिर पूर्ण रुपमा खुला गरिएको हो । अब सर्वसाधारण भक्तजनहरुले मन्दिरको शिलाको प्रत्यक्ष दर्शन गर्न पाउने भएका छन् ।

उनले भने, ‘भोलिदेखि सम्पूर्ण सर्बसाधारणहरुका लागि मन्दिर पूर्ण रुपमा खुल्ला गरेका छौं । अब सबैले प्रत्यक्ष रुपमा सबैले दर्शन गर्न पाउनेछन् ।’ यस अगाडि लकडाउनका कारण मन्दिर बन्द रहँदा पनि मन्दिर बाहिर पूजा गर्नेहरुको भीड नै लाग्ने गरेको थियो ।

त्यस्तै वडाध्यक्ष श्रेष्ठका अनुसार मन्दिरमा पूजा गर्न आउनेहरुले अनिवार्य रुपमा मास्क लगानुपर्नेछ । सेनिटाइजर भने मन्दिर परिसरमै ब्यवस्था गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी गराए । सकेसम्म सामाजिक दूरी पनि कायम गर्नुपर्ने उनको भनाइ छ ।

त्यसोत, यस मन्दिरमा गत मंसिर ९ गते पसिना आएपछि मुलुक र जनतालाई ‘अनिष्ट नहोस् भन्दै राष्ट्रपति, भीमेश्वर मन्दिर गुठी, पूजा व्यवस्थापन समिति र सर्वसाधारणको तर्फबाट क्षमापूजा गरिएको थियो । भीमेश्वरको शिलामा पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV