२७ भाद्र २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा–२ देखि हालसम्म निधन भएका खेलकुदसंग सम्बन्धितको सम्झनामा त्रिपुरेश्वरस्थित राखेप हातामा शोकसभा आयोजना गरिएको थियो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारी, प्रशिक्षकलगायतले दिवंगतहरुको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पन गरेका थिए ।

त्यसअघि उनीहरुको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो । सोमबार राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV