२७ भाद्र २०७८, आईतवार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सोमबार (भोलि) साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएका हुन् ।

आजको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गरेका थिए । सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए । तर, एमालेले कारवाही गरेका सांसदहरुलाई बैठकमा सहभागी गराउन नहुने भन्दै बिरोधलाई निरन्तरता दिएको थियो ।

यसअघि आइतबार नै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गरेका थिए । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV