२७ भाद्र २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखिएको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पारेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीले कारवाही सिफारिस गरेका सांसदलाई कारवाही नगरेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पारेका हुन् ।

उनले सभामुखबाट पदको दुरुपयोग भएको आरोप लगाए । ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिए । नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर जान नहुने भन्दै उनले सभामुखलाई माइकले हान्ने योजना नरहेको बताए ।

त्यस्तै उनले मर्यादापालकले नै विरोध गर्ने ठाँउ नदिएर वेल कव्जा गरेको जिकिर गरे । त्यस्तै अध्यक्ष ओलीले बोल्न नदिएर सरकारले तानाशाहको व्यवहार देखाएको आरोप लगाए । उनले बजेटको प्रतिस्थापन विधेयकमा केही नयाँ कुरा नआएको बताए ।

पूर्वाधारण बिकास र आयोजनामा सरकारको कुनै चासो नदेखिएको उनले बताए । उनले भ्रष्टचारलाई प्रश्रय दिन मापदण्डविपरित रकम बाँड्ने योजना सरकारले ल्याएको धारणा राखे । बैठकमा पूर्वअर्थमन्त्री एवं एमालेका उपमहासचिव बिष्णु पौडेलले बजेट प्रतिस्थापन विधेयकमा गम्भीर भूल गर्न खोजिएको आरोप लगाए ।

आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको उनको भनाइ छ । प्रतिस्थापन विधेयकमार्फत सरकारले वित्तीय अनुशासन पनि उल्लंघन गरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV