२६ भाद्र २०७८, शनिबार
  • युवराज आचार्य,

झापा । महिलाहरुमा हुने महिनावारी र अपनाउनु पर्ने आवश्यक सावधानीका विषयमा झापाको मेचीनगरमा सचेतनामुलक सडक नाटक ‘प्याड’ प्रस्तुत गरिएको छ ।

परिवर्तन थिएटरसँगको समन्वयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले शनिबार मेचीनगर–७ सत्तिघट्टास्थित बरपिपल चोकमा सडक नाटक प्रस्तुत गरेको हो ।

नाटकमा महिलाहरुमा हुने महिनावारी र सो अवधिमा अपनाउनु पर्ने आवश्यक सावधानीलाई देखाइएको थियो । महिनावारीको समयमा महिलाहरूले थप स्वस्थ र सुरक्षित रहन कपडा नभई सेनिटरी प्याडको अनिवार्य प्रयोग गर्नु पर्नेमा जोड दिइएको थियो ।

ग्रामिण भेग त्यसमा पनि विशेष गरी चिया बगानमा काम गर्ने श्रमिकका घरका किशोरी तथा महिलाहरुले जीविकोपार्जनमै श्रम र आर्जन खर्च गर्न बाध्य हुने र अन्धविश्वास, चेतनाको कमीलगायतले अझैपनि महिनावारीको समयमा प्याड नभई अस्वस्थ कपडा प्रयोग गरि रहेको पक्षलाई नाटकमा देखाइएको थियो ।

नाटकमा महिनावारीको समयमा हेलचेक्र्याई गर्दा भविष्यमा महिलाहरुमा पाठेघरको संक्रमण तथा क्यान्सर जस्ता घातक रोगहरुको सिकार बन्न महिलाहरु बाध्य हुने गरेको समस्यालाई देखाइएको थियो ।

साथै क्लबले सो अवसरमा दुई सय थान प्याडसमेत वितरण गरेको थियो । कार्यक्रममा सहजीकरण नाटककी निर्देशक एवम् सुत्रधार कविता नेपाल पोर्तेलले गरेकी थिइन् ।

रिजु कार्कीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष पुस्कर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV