२६ भाद्र २०७८, शनिबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको सपथ ग्रहण शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । बालगोपाल थापाको अध्यक्षतामा गठित १ सय ७५ सदस्यीय जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत सामाजवादी) प्रदेश नं. २ का अध्यक्ष रामचन्द्र यादवले ओली समूह बाटो विराएर बिसर्जनको बाटोतर्फ लागेको बताएका छन् ।

उनले कम्युनिष्ट आन्दोलनलाई उच्च बिन्दूमा पु¥याउन सबै नेता, कार्यकर्ताहरुलाई पार्टीमा लाग्न आग्रह गर्दै नेकपा एकीकृत समाजवादी सत्य र सही लाइन भएको दाबी गरे । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाले कालोलाई कालो भन्न नसक्ने तथा सत्यको पक्षमा उभिन नसक्ने कम्युनिष्ट हुनै नसक्ने वताए । उनले त्यस्ता व्यक्तिहरु दक्षिणपन्ती तथा अवसरवादी भएको टिप्पणी गरे ।

कार्यक्रममा १ सय ७५ जना जिल्ला कमिटी सदस्यमध्ये उपस्थित १ सय ३८ जनाले पद तथा गोप्यनीयताको सपथ ग्रहण गरेका थिए । बाँकी ३७ जनालाई पछि सपथ ग्रहण गराइने जनाइएको छ । सपथ ग्रहण कार्यक्रमपछि बसेको जिल्ला कमिटीको बैठकले २५ सदस्यीय जिल्ला सचिवालय कमिटी पनि गठन गरेको छ ।

पार्टीको गतिविधि सञ्चालन गर्न सहज हुने उद्देश्यले गठित सचिवालय समितिमा जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला सचिव बिक्रम चौरसिया, जिल्ला सदस्य प्रभुनाथ प्रसाद कुर्मी, बृज प्रसाद यादव, मनोज चौधरी, अरुणा यादव, राघव साह, बृजलाल पासवान, मंजुर आलमलगायत रहेका छन् ।

यस्तै बैठकले युवा फाँट प्रमुख अनिल पटेललाई, समजबादी प्रेस संगठन प्रमुख राघव साहलाई, निजमती कर्मचारी प्रमुख सुबेदार यादवलाई, पेसागत प्रमुख संतोष सिंहलाई, मुक्ति समाज प्रमुख बृजलाल पासवानलाई, किसान संघ प्रमुख ध्रूव कुर्मीलाई, बुद्धिजीबी प्रमुख रघुनाथ चौरसियालाई र महिला प्रमुख योग माया तामाङलाई जिम्मेवारी दिएको छ ।

यी भातृ संगठनहरुको जिल्ला कमिटी एक सत्ताभित्र बिस्तार गर्न पनि बैठकमा जिल्ला अध्यक्ष थापाले निर्देशन दिए । वीरगञ्जको बसपार्कस्थित सोल्टी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पूर्व मन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य रामचन्द्र साह, केन्द्रीय सदस्य डा. पुष्पा कर्ण, प्रदेश सदस्य चिरञ्जिवी आचार्य, किरोशी कुशवाहा, योगेन्द्र यादव लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV