२६ भाद्र २०७८, शनिबार

बारा । बाराको निजगढस्थित एक होटलमा प्रहरीले गरेको छापामारीको रिपोटिङ्ग गर्ने क्रममा प्रहरीले पत्रकारको मोवाइल खोसेर भिडियो डिलिट गरेको छ । निजगढ बजारस्थित होटल तारा इनमा प्रहरीले नियन्त्रणमा लिएको एकजना व्यक्तिको भिडियो किन खिचेको भन्दै भिडियो डिलिट गरेको हो ।

प्रहरीले होटलमा ‘रेड’ हानेको विषयमा समाचार संकलन गर्न पुगेकी न्यूज २४ की बारा संवाददाता एवं नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष लक्ष्मी पाण्डेको मोवाइलमा रहेको भिडियो डिलिट गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजादै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोवाइल खोसेर भिडियो डिलिट गरेको हो । पत्रकारको मोवाइल खोसेर दूव्र्यवहार गरेको घटनाप्रति पत्रकार अगुवाहरुले विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश–२ का सदस्य महेश्वर अधिकारीले भत्र्सना गरेका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतमले प्रहरीले स्वतन्त्र प्रेसमाथि गरेको व्यवहार निन्दनीय भएको बताए ।

उनीहरुले घटनामा संलग्नलाई कारबाहीको समेत माग गरेका छन् । ठूलो संख्यामा प्रहरी होटलमा परिचालन भएको छ । तर, प्रहरीले कसलाई किन नियन्त्रणमा लिएको हो ? भन्ने बारे गोप्य राखेको छ । प्रहरीले होटलमा अन्य व्यक्ति र पत्रकारलाई प्रवेशमा समेत रोक लगाएको छ ।

सादा पोशाकमा रहेका प्रहरी टोलीसँगै ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालय बारा प्रहरीको भ्यान दिउँसो होटलमा पुगेको थियो । तर, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले भने आफूलाई जानकारी नभएको बताए ।

यता ईलाका प्रहरी कार्यालय निजगढले भने ‘ठूलै घटनासँग सम्बन्धित अपराधी’ पक्राउ परेको र अहिले अनुसन्धान भइरहेको बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV