२५ भाद्र २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ का नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका १० जना एमाले सांसदको सनाखतलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको छ ।

आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८ को दफा ३३ को उपदफा २ ‘क’ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ दोस्रो संशोधन २०७८ को नियम ५ र नियम ७ क बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालय बिराटनगरमा सनाखत गरेका उक्त १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ ९२ क बमोजिम दल त्याग गरेको नमानिने भएको हो ।

आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, गणेशबहादुर कामवाङ, खिनु लङ्वा सरिता थापा लिम्बू, पदम कुमारी गुरुङ, साबित्रा कुमारी रेग्मी, उपेन्द्रप्रसाद घिमिरे, कृष्णकुमारी राई, राजेन्द्रकुमार राई र सुनिताकुमारी चौधरी अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।

१० जना सांसदको सनाखत सदर भएपछि प्रदेश १ मा नयाँ सरकार निर्माणको बाटो पनि खुला भएको छ । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका सांसदले मान्यता पाएपछि नयाँ सरकार निर्माणको काम औपचारिक रुपमा थाल्ने जनाएका छन् । तर, कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे गठबन्धनका नेताहरुले केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV