२५ भाद्र २०७८, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित रहेको विवादित जग्गामा बसोबास गर्दै आएका एक परिवारको घर एकाएक गत बुधबार प्रहरीले बल प्रयोग गरेर भत्कायो । विगत चार पुस्तादेखि भोगचलन गर्दै आएका रघुनी साह तुरहाका परिवारका २२ जना सदस्यहरु वीरगन्ज महानगरपालिकाले प्रशासनको आडमा एकाएक घर भत्काएपछि विचल्लीमा परेका छन् ।

वीरगञ्ज महानगरपालिका–९ रानीघाटमा काठमाडौं निवासी राणा परिवारको नाममा रहेको कित्ता नंं. १२८ र ३५ (हाल कि.नं. ८६) को १९ धुर जग्गा दान बक्सिसमा आफ्ना पूर्खा रघुनी साह तुरहा, दरोगा साह तुरहालाई प्राप्त जग्गालाई हाल आएर स्थानीय मधु देवीको नाममा लालपूर्जा बनाएर जग्गा खाली गराएको रघुनी साह तुरहाका चौथो पुस्ताका जेठा छोरा राजेन्द्र साह तुरहाले बताए ।

उनका अनुसार हजुरबुबालाई जग्गा राणाहरुबाट दान बक्सिसमा प्राप्त भएको थियो । २०२१ सालको नापी हुनु भन्दा पहिलादेखि नै पुर्खाहरुले सो जग्गा भोगचलन गर्दै आएको उनको दाबी छ ।

काठमाडौ निवासीं हेमन्त शमशेर राणा, कनक शमशेर राणा, रुकुम शमशेर राणा र हटक शमशेर राणाको नाममा रहेको उक्त जग्गा उनीहरुको आमाबुबाले सेवासत्कार, जग्गा जमिनको रेखदेख तथा खेतीपाती गरे बापत तत्कालीन समयमा बाजे बजैलाई दिएर कहिल्यै पनि खाली नगराउने बाचासहित २०२१ सालमा बाजे रघुनी साह तुरहा र २०४८ सालमा बुवा दरोगा साह तुरहाको नाममा फिल्डबुकमा नाम दर्ता समेत गराएको छोरा राजेन्द्र साह तुरहाले बताए ।

फिल्ड बुकमा अहिलेपनि बुवा र बाजेको बुवाको नाम रहेको पीडित राजेन्द्र साह तुरहाकी श्रीमती चन्द्रकाली देवीले बताइन् । हाल आएर आफ्नो परिवारलाई कुनै जानकारी विना दलालहरुको चलखेलमा स्थानीय मधु देवीको नाममा खरिद विक्री गराई लालपूर्जा तयार पारी पैसा एवं पार्टीको आडमा जबरजस्ती घर भत्काइएको पीडित परिवारको आरोप छ ।

घर भत्काएसँगै परिवारका सदस्यहरु अहिले सडकमा खुल्ला आकाशमुनि बस्न बाध्य छन् । उक्त परिवारका साना साना बालबालिकाहरु पनि सडकमै खाने र सुत्ने गरेका छन् । आफूले पालेको घरपालुवा जनावरलाई पनि खुल्ला आकाशमुनि राख्नुपर्ने अवस्था रहेको पीडित राजेन्द्र साह तुरहाको गुनासो छ ।

हाल जग्गा पर्सा जिल्ला तत्कालीन गाविस विश्रामपुर वडा नं. ७ निवासी जवाहर प्रसाद कलवारका श्रीमती मधु देवी कलवारिनको नाममा रहेको छ । उनका देवर प्रमोद कुमार गुप्ताका अनुसार सबै काम कानूनी तरिकाले भइरहेको दाबी गरे ।

जग्गाधनीले आफ्नो जग्गा हामीसँग बेचेका छन्, त्यो जग्गा हामीलाई पाउनुपर्छ, तर विगत ८ वर्षदेखि उक्त जग्गा खाली गराउने विषयमा विवाद चलिरहेको अवस्थामा हाल आएर वीरगन्ज महानगरपालिकाको न्यायिक समितिले साउन ५ गते गरेको निर्णयलाई जिल्ला अदालतले पनि सदर गरेकोले त्यसैको आधारमा घरजग्गा खाली गराइएको बताए ।

जग्गाको विषयलाई लिएर पटक–पटक स्थानीय स्तरमा छलफल भएपनि विवाद टुँगो लाग्न सकेको थिएन । स्थानीय स्तरमा भएको विवादलाई स्थानीय स्तरमै मिलाउनुपर्छ भन्ने उद्देश्यले तुरहा परिवारलाई उचित व्यवस्थापनको लागि जग्गा किनेका कलवारिनले केही पैसा पनि दिने सहमति भएको थियो तर, तुरहाले आफ्नो पुर्खयौली जग्गा रहेको कारण आफूहरुले जग्गा नछाड्ने, कानूनी प्रक्रियाबाट लड्ने अठोट राखेको कारण अहिले जग्गाधनी कलवारिनका श्रीमान् र देवरको पैसा र पार्टीको पावरले तुरहालाई घरविहीन बनाई दिएको छ ।

मधु देवीका श्रीमान् जवाहरलाल गुप्ता तथा देवर प्रमोद गुप्ता लगायतकाले न्यायिक समितिले गरेको निर्णय, अदालतले पठाएको चिठीहरु सबै लुकाएर तथा आफूहरुलाई जानकारी र नोटिस बिना जग्गा खाली गराउन आएको तुरहा परिवारले आरोप लगाएको छ ।

जग्गा खरिद बिक्री हुने बेलामा पनि उनका श्रीमान् जवाहिरलाल साहले आफूहरुलाई जानकारी नै नदिई आफ्नो श्रीमतीको नाम पास गराएको तुरहा परिवारको आरोप छ । जिल्ला अदालतले तुरहा परिवारकै पक्षमा निर्णय गरेको भएपनि सर्वोच्च अदालतमा माग भएको परमादेश खारेज भएको तथा बीरगन्ज महानगरपालिकाका न्यायिक समितिले पनि जग्गा खाली गराउने निर्णय दिएपछि जग्गा खाली गराइएको हो ।

तुरहा परिवारका अनुसार हाल सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र असोज ६ गते तारेख रहेको बताउँदंै त्यसको अगावै पार्टीका कार्यकर्ता, गुण्डा र स्थानीय प्रहरी लगाएर घर तोडफोड गरेर जग्गा खाली गराइएको पीडित राजेन्द्र साह तुरहाको आरोप छ ।

जग्गाधनी मधुदेवी कलवारिनका परिवारले जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म आफ्नै पक्षमा फैसला भएको बताउँदै तुरहा परिवारले जग्गा खाली गर्न नमानेपछि वीरगन्ज महानगरपालिका र प्रशासनको सहयोगमा खाली गराइएको बताइन् ।

तत्कालीन जग्गाधनी राणाले तुरहा परिवारलाई जग्गा दिए÷नदिएको आफूहरुको सरोकारको विषय नरहेको भन्दै मधुदेवीका देवर प्रमोद गुप्ताले राणा परिवारले जग्गा आफूहरुलाई बेचेको बताए । यसबारे वीरगन्ज महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष मनोज प्रसाद कलवारका अनुसार जग्गा खाली गराउनका लागि घर तोडफोड गरिएकोबारे आफू अनभिज्ञ रहेको बताए ।

उनले विगत लामो समयदेखि उक्त जग्गाको विवाद चल्दै आएकोमा कति पटक स्थानीय स्तरमा बसेर सुल्झाउने प्रयास गरिएको थियो तर त्यो सफल हुन सकेको थिएन । हाल आएर महानगरपालिकाले आफूलाई जानकारी नै नदिई आफ्नै वडामा रहेको विवादित घर कसरी भत्कायो भनेर आफूलाई जानकारी नरहेकोले यसबारे विस्तृत तथ्य बुझ्ने बताए ।

यता वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सर्वोच्च अदालतको आदेशलाई आधार मानेर घर खाली गराइएको बताए । उनका अनुसार सर्वोच्च अदालतको आदेश नगर प्रहरी प्रमुख हरि भुषालसँग रहेकोले उनीसँग भेटेर सर्वोच्चको फैसलाको फोटोकपि हेर्न सकिने र सही कुरा के हो भनेर बुझ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV