२५ भाद्र २०७८, शुक्रबार
  • सुरेश भट्ट,

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट घर आउने नेपालीहरुलाई सीमानाकामै कोरोनाविरुद्धको खोपको व्यवस्था गरिएको छ ।

भिमदत्त नगरपालिका र जनस्वास्थ्य कार्यालय कञ्चनपुरको साझेदारीमा भारतमा भएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्ने बेला नै एन्टिजेन्ट परीक्षण गर्नुका साथै खोप लगाएर मात्रै नेपाल प्रवेश दिइएको छ ।

भारतमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै र भारतमा रहेका खोपबाट बञ्चित भएका नेपाली नागरिकहरुको स्वास्थ्यको मध्यनजर गर्दै यही भदौ दश गतेदेखि सीमा नाकाममै कोरोनाविरुद्धको खोपको व्यवस्था गरिएको हो ।

अहिले भारतबाट आउने १८ वर्ष माथिका नेपाली नागरिकहरुले सीमामा रहेको हेल्थडेस्कमै कोरोनाविरुद्धको खोप लगाइरहेका छन् । साथै १२ कक्षाको परीक्षा दिने विद्यार्थीहरुले समेत कोेरोनाविरुद्धको खोपको लगाइरहेका सीमा नाकामा खटिएका स्वास्थ्य कार्यालयमा कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले बताइन् ।

आहिले सीमा नाकामा सरकारले खोपको ब्यवस्था गरेकोले आफूहरुले खोप लगाउन पाएको र यस कार्यलाई निरन्तरता दिनुका साथै सरकारले रोजगारीको समेत नेपालमै ब्यवस्था मिलाउन सके आफूहरु विदेशिनु पर्ने बाध्यता नहुने भारतबाट आएका एक नेपाली बताउँछन् ।

कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सीमाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण गर्नुका साथै खोपको पनि ब्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

दैनिक सीमानाका भएर भारतबाट घर फर्किने ५० जना भन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाएर नेपाल प्रवेश गर्ने गरेका छन् ।

भीमदत्त नगरपाललिका कञ्चनपुरका अनुसार हालसम्म जिल्लामा १ लाख ७ हजार १ सय ६३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ६४ हजार ७ सय ९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV