२५ भाद्र २०७८, शुक्रबार

काठमाडौँ । पशुपतिनाथ मन्दिर विश्वका समस्त हिन्दुहरुको आराध्य तीर्थस्थल हो । पशुपतिनाथ मन्दिरको महिमा र गरिमालाई नै मध्यनजर गर्दै यस क्षेत्रको वृहत्तर विकासका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो । विक्रम सम्वत २०४४ सालमा स्थापित यस संस्थामा तत्कालीन समयमा राजा संरक्षक र रानी अध्यक्ष रहने गरी राजपरिवारकै छनौटमा सञ्चालक परिषद् गठन हुन्थ्यो ।

देशमा राजतन्त्र ढलेर धर्मनिरपेक्षता सहितको संघीय गणतन्त्रात्मक शासन व्यवस्था लागू भएपछि पशुपतिनाथ पनि नेपाल र नेपाली जनताको राष्ट्रदेवबाट हिन्दूहरुको आराध्यदेवमा परिणत भए । तर देशमा शासन पद्धति परिवर्तन भए पनि विकास कोष सञ्चालनमा भने राज्यको प्रभाव उस्तै नै छ ।

राजीतिक हस्तक्षेपकै कारण कोष चरम राजनीतिक दलदलमा

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा हाल प्रधानमन्त्री संरक्षक र संस्कृति मन्त्री अध्यक्ष रहने गरी अन्य पदाधिकारी छनौट गरिन्छ । पदाधिकारी छनौटको यो प्रक्रियाले नै सञ्चालक परिषद्लाई विवादयुक्त बनाएको छ । खुल्ला प्रतिष्पर्धा नगरी राजनैतिक नेतृत्वले पदाधिकारी चयन गर्दा विकास कोष चरम राजनैतिक दलदलमा फसेको छ ।

आफ्नै पोल्टो भर्ने लोभ

जुन नेतृत्वको निगाहमा कोषमा नियुक्त भएको हो, उसको स्वार्थपूर्तिका लागि पदाधिकारीले काम गरिरहेका छन् । यस्तै, सञ्चालक परिषद्मा आउन चाहने नेतृत्वहरु एकाध छाडेर पशुपतिनाथको प्रवद्र्धन भन्दा आफ्नै पोल्टो भर्ने लोभमा यहाँ आएका हुन्छन् । परिषद्का वर्तमान नेतृत्वहरुलाई नै हेर्ने हो भने पनि यो तथ्य छर्लङ्ग हुन्छ । अझ विकास कोषको वेथितिलाई सरकारी दस्तावेजको रुपमा रहेको महालेखा परीक्षकको प्रतिवेदनले समेत पुष्टि गरेको छ ।

कोषाध्यक्ष थापा सदस्य सचिव कसरी बने ?

कोषमा नवनियुक्त सदस्य सचिव मिलनकुमार थापा यस अघि कोषाध्यक्ष थिए । उनकै कार्यकालमा पशुपति मन्दिरमा सुनको जलहरी राख्ने विषय अगाडि बढेको हो । र, शास्त्रविपरीतको यस कार्यमा अनेक जालसाजी गर्दै जलहरी राख्ने कार्य सम्पन्न भयो । अहिले त्यही जलहरीमा प्रयोग गरिएको सुनको मात्रालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आायेगले छानविन थालिसकेको अवस्था छ । गत भदौ १२ गतेसम्म थापा कोषाध्यक्ष थिए तर शेरबहादुर देउवाले उनलाई कोषको सदस्य सचिवमा नियुक्ति दिएका छन् ।

मासिन लागेका जात्रा-पर्वमा कोषको ध्यानै गएन

सञ्चालक परिषद्को वेइमानीको फेहरिस्ता निकै लामो छ । अहिले महालेखाको प्रतिवेदन र आयोगको छानविनले विषय केही सतहमा ल्याएको मात्र हो । पाशुपत क्षेत्रका भत्किएका सम्पदा पुननिर्माणमा पहल नगरिनु अनि मासिन लागेका जात्रापर्व जगेर्ना गर्नतर्फ जागर नचल्नुले पनि विकास कोषको विनाशे चरित्रलाई चित्रित गर्दछ ।

भ्रष्टाचार र अनियमितता

विवादमा परेका पदाधिकारीको सञ्चालक परिषद्मा पुनरागमन हुनु, पशुपति मन्दिर र यस क्षेत्रको महिमा नबुझेका जोकोहीलाई नियम मिच्दै कार्यकारिणीको जिम्मेवारी दिइनु, कोषका विकृतिमाथि खवरदारी गर्नेलाई नियमित वैठकको जानकारी नै नगराइनु लगायतका अनेक विषयले विकास कोषको सञ्चालनमा विरोधाभाष पाइएको छ । लोभ, मोह त्यागी भक्ति गर्नु पर्ने पवित्र स्थानमा समेत राजनैतिक नेतृत्वले आफ्नो पाशा चाल्नाले आज पशुपतिनाथको अवस्था नै पीडादायक छ ।

व्यक्तिको भलो गर्ने भोलाले आफ्नै भलो गर्नु पर्ने बेला आयो

भगवत् सेवाको थोरै पनि चेत नभएका स्वार्थीहरु शिवको भक्तिमा लागेका छन् र प्रसादको रुपमा शिवस्व लिइरहेका छन् । यत्ति त थाहा हुनु पर्ने हो, सेवाविहीन यो प्रसाद पुण्यदायक भने पक्कै हुँदैन । पशुहरुका पति आज स्वार्थी समूहका प्रभावमा छन् । नेता रिझाउने अनि आफू ठाउँमा पुगेर नेता र आफ्नो मात्र हितको काम गर्ने प्रवृत्तिले पशुपतिनाथको भने अहित भएको छ । हुन पनि अनेक विवाद बिच फसेको विकास कोषबाट पाशुपत क्षेत्रको विकासका लागि के नै अपेक्षा गर्न सकिन्छ र ? यहाँ व्यक्तिले नभइ व्यक्तिको भलो गर्ने भोलाले नै आफ्नो भलो गर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV