२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । हिन्दूहरुका आराध्यदेव पशुपतिनाथलाई समेत भ्रष्टाचार गर्ने अखडा बनाइएको छ । आम हिन्दूहरुको अगाध आस्था भएको पशुपतिनानलाई कमाई खाने भाँडो समेत बनाउन थालिएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनले पशुपतिको सम्पत्तिमाथि भएको बदमासीको फेहरिस्त नै सार्वजनिक गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि परेको उजुरीमाथि छानविन थालेको छ ।

पशुपतिनाथकाे सम्पत्तिलाई लिएर विवाद पहिलेदेखि नै थियो । तर पशुपतिनाथको सम्पत्ति कति छ भन्ने कुरामा पनि यकिन विवरण कहिले सार्वजनिक गरिएन । कोरोना जोखिम न्यूनीकरणका लागि गत बैशाख १० गतेदेखि लगाइएको बन्देजपछि पशुपतिनाथ भोलि शुक्रबारदेखि पुनः दर्शनार्थीका लागि खुला गरिदैछ । हरेक दिन दर्शनार्थी चढाउने गरेको भेटीमात्र नभइ बिभिन्न पूजा गर्दा चढाइने गरेको भेटी पनि कहिल्यै पारदर्शी हुन सकेको छैन ।

राजनीतिक नियुक्तिको अखडा बनेको पशुपति क्षेत्र विकास कोष अहिल कमाउ धन्दामा लागेकाहरुको लागि उर्वर एवं गतिलो आश्रय स्थल बनेको छ । पछिल्लो समय पशुपतिनाथ राखिएको जलहरीमा १ सय ८ केजी सुन राख्दा ११ केजी सुन गायब पारिएको विषयलाई लिएर अख्तियारले छानविन अघि बढाएको छ भने गुहेश्वरी मन्दिरबाट १ सय ७३ तोला सुन गायब भएको छ । ८० करोड बजेट खर्च गरिएको जलहरी राख्ने कार्य केबल १५ दिनमा सम्पन्न हुँदा धेरै प्रश्नहरु त्यतिखेर नै उठेका थिए ।

बेथितिको चाङ नै बोकेको पशुपति क्षेत्र विकासले न पुशपतिको सम्पत्तिको रक्षा गर्न सकेको छ नत यस्को यकिन हिसाब नै राख्न सकेको छ । हैसियत भएर भन्दा पनि राजनीतिक आड र आर्शीवादमा कोषमा नियुक्ति पाएकाहरुले पशुपतिको देवस्व हिनामिनामा निर्लिप्त भएर लागिपरेको पाइलापाइलामा पुष्टि हुन थालेको छ । पशुपतिको सम्पत्तिमा उनीहरुले नै आँखा नगाडेको ठाउँ छैन र नखाएको पनि शीर्षक नै छैन ।

महालेखाको प्रतिवेदन र पशुपतिनाथको सम्पत्ति

महालेखा परीक्षकको कार्यालयको ५८ औं बार्षिक प्रतिवेदनले मन्दिर भित्रदेखि बाहिर व्यवस्थापनसम्ममा भएका बदमासी र आर्थिक अनियमितताको फेहरिस्त नै सार्वजनिक गरेको छ । पशुपतिनाथको अहिलेको बचतमा रहेको चल सम्पत्ति १२ करोड २४ लाख ३१ हजार रहेको छ । तर बैंक छान्दा बढी नाफा दिने नभइ सोझै बैक खाता खोली राख्ने गरेको पाइएको छ । यस्मा कुनै प्रतिष्पर्धालाई आधार बनाएको समेत पाइदैन । यसबाहेक पशुपतिनाथको सम्पत्तिको जिम्मा लिएका व्यक्ति तथा फर्मबाट उठनु पर्ने रकमको दायरा पनि फराकिलो देखिएको छ । सम्पत्तिको संरक्षणमा कोषले कुनै गम्भीर भूमिका नखेलेको स्पष्ट देखिएको छ ।

गुह्येश्वरी मन्दिरका २ मूर्तिबाट १७३ तोला सुन गायब

यस्तै पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएको छ । २०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा राखिएको ७१३ तोला सुन र १३३.३९४ किलो चाँदीको ‘मोलम्बा’मा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि कोषले त्यस्तो ९ बर्ष पछि अर्थात २०७६ मा आएर मात्र मर्मतको काम सुरु गर्यो । अहिले ती दुई मूर्तिबाट १७३.५ तोला सुन अहिले ती दुई मूर्तिबाट १७३.५ तोला सुन ‘क्षय भएको’ कोषको दावी छ । कोषको लापरबाहीका कारण ती मूर्तिबाट १ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको सुन गायब भएको छ ।

जलहरी राख्दा ११ केजी सुनको हिसाब गोलमाल

पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयको विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । २०७७ माघ ११ मा पशुपतिनाथको दर्शन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा सुनको जलहरी राख्ने घोषणा गरेका थिए । जलहरीको गत फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन । तर कोषका ५ जना सदस्यले जलहरी निर्माणसम्बन्धी हिसाबकिताब माग्दा नपाएपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धानले छानविन थालेको छ ।

जलहरीको सुनबारे अख्तियारले थाल्यो छानविन

अनुसन्धानको क्रममा अख्तियारले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको पुनः परीक्षण गर्ने भएको छ । १ सय ८ केजी सुनको जलहरी बनाउँदा ११ केजी सुन गायब पारिएको उजुरी अख्यितारमा परेको छ । कोषका वर्तमान र निवर्तमान पदाधिकारी तथा कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले जलहरीको पूर्ण प्राविधिक परीक्षण गर्ने भएको छ । यस बारेमा अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापासँग सोमबार र मंगलबार १२ घण्टा भन्दा बढी समय बयान लिएको छ । थापा यस अघि कोषको कोषाध्यक्ष थिए भने गत भदौ १२ गते मात्र उनी वर्तमान मन्त्रिपरिषद्बाट सदस्य सचिवमा नियुक्ति भएका थिए ।

जलहरी विवाद र श्रद्धालुको सहयोगमा अनियमितता

१ सय ८ केजीको जलहरी बनाइएको विवरण अख्तियारले फेला पारेको कोषको कागजातमा उल्लेख छ । तर जलहरी भने ९६ केजी ८ सय २२ ग्रामको मात्रै राखिएको पाइएको छ । बाँकी करिब ११ केजी सुन कसले गायब पा¥यो भन्ने विषयमा अख्तियारको अनुसन्धान थालेको हो ।
जलहरी राख्दा श्रद्धालु तथा भक्तजनहरुले पनि ठूलो रकम दान गरेका थिए । तर त्यो रकममा पनि अनियमितता भएको आशंका अख्तियारको छ ।

पशुपतिनाथमा राखिएको जलहरीमा अर्थात भगवानलाई चढाइएको जलहरीमा त भ्रष्टाचार गर्ने कोषका पदाधिकारीहरुले पशुपतिको बाँकी सम्पत्तिको के हालत बनाएका होलान ? प्रश्न गर्ने धेरै आधारहरु खडा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV