२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

विहीबार (आज) काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले सिंहदरबारमा अध्यक्ष नेपाल सहितका नेतासँग भेटवार्ता गरेको हो । भेटका क्रममा एमसीसी उपाध्यक्ष सुमारले आफू एमसीसी पारितका लागि दबाब दिन नभई यस विषयमा छलफल गर्न र बुझ्न आएको बताएकी थिइन् ।

त्यस्तै अध्यक्ष नेपालले संयुक्त सरकारको गठबन्धनमा रहेकाले एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्ने र अन्यथा भए स्वीकार गर्न नसक्ने बताएका थिए । एमसीसीका बारेमा उठेका चर्चा परिचर्चालाई प्रष्ट पार्नुपर्नेमा उनको जोड रहेको समाजवादी नेता गंगालाल तुलाधरले बताए ।

भेटका क्रममा एमसीसीका विषयमा उठेका बिषयमा सवालजवाफ भएको तुलाधरले जानकारी दिए । उपाध्यक्ष सुमारको टोलीले विहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो भने शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV